हिमाल दैनिक
रवि र छविलाई हिरासतको म्याद थपको माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराइयो

सहकारीको बचत हिनामिना तथा संगठित अपराध लगायतका विषयमा आरोप लागेपछि अनुसन्धानका लागि हिरासतमा रहेका तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालकद्वय रवि लामिछाने र छविलाल जोशीसहितका अभियुक्तलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ।

पोखराको सूर्यदर्शन सहकारीको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा कार्तिक पहिलो साता काठमाडौंबाट पक्राउ गरी कास्की जिल्ला अपराध अनुसन्धान शाखाको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत रहेका लामीछाने र उनका व्यवसायिक साझेदार जोशीलाई बिहिबार जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत म्याद थपको माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो।

रविसँगै गोरखा मिडिया नेटवर्क प्रा.लि.का व्यवसायिक साझेदार तथा पूर्व डिआइजी जोशीले उक्त कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सूर्यदर्शन ऋण तथा बचत सहकारीको ६४ करोड ५४ लाख अपचलन गरेको आरोप सहकारीका पीडित बचतकर्ता तथा संसदीय छानविन समितिले लगाएपछि प्रहरीले उनीहरु दुबैलाई नियनत्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

छविलाई असोजको पहिलो साता र रविलाई कार्तिकको पहिलो साता पक्राउ गरी अनुसन्धान जारी राखेको प्रहरीले पछिल्लो पटक मंसिर २३ गते जिल्ला अदालत कास्कीबाट चार दिन हिरासतको म्याद थप गराएको थियो।

त्यहीबिचमा वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारीको रकम हिनामिना तथा अपचलन गरेको अरोपमा लामिछाने र जोशीलाई प्रहरीले मंगलबार वयानका लागि पर्सा लगेर बुधबार मात्रै पोखरा फिर्ता लगेपछि प्रहरीले आज म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो।

उक्त ठगी प्रकरणका मुख्य योजनाकारका रुपमा परिचित जिबी राई फरार रहेपछि रवि र छविसँगै अपचलनमा संलग्न भएको आरोप लागेका गीता पछाई र नेचर हब्र्स इन्टरनेशनलका संंचालक रामबहादुर खनालको पनि म्याद थपको मागसहित प्रहरीले अदालतसमक्ष उपस्थित गराएको छ।

उक्त समूहले पोखरा र पर्सा मात्रै होइन, बुटबलको सुप्रिम, चितवनको साहारा र काठमाडौंस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ गैरकानूनी रुपमा अपचलन गरेको आरोप लागेको छ। यसरी संगठित रुपमा सहकारीको रकम हिनामिना गरेको आरोप लागेका रवि, छवि लगायतको समूहमाथि प्रहरीले सहाकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति सुद्धिकरण जस्ता गम्भीर विषयमा पनि छानविन र अनुसन्धान गरिरहेको बताइएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update