मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
बिहीबार काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ४० हजार रुपैया धरौटी बुझाएर रिहा हुनासाथ प्रहरीले प्रसाईंलाई अदालत परिसरभित्रैबाट पुनः पक्राउ गरेको हो।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईंलाई पक्राउ गरेको हो।
आफुलाई पुन पक्राउ गरेपछि प्रसाईंले सञ्चारमाध्यमसंग केहि बोल्न खोजेका थिए। तर प्रहरीले भने सञ्चारमाध्यमलाई प्रसाईं नजिक जान रोक लगाएको थियो। त्यसका बाबजूद प्रसाईले प्रहरीको सुरक्षा घेराभित्रैबाट आफ्नो असन्तुष्टि व्यक्त गर्दै प्रहरीको गाडीमा पस्नुअघि ढोकामा उभिएर आफ्ना समर्थकहरुलाई पक्राउको विरोध जनाएका थिए।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ। विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी गरेको नक्कली कागज सार्वजनिक गरेपछि प्रसाईं यहि मंसिर ४ मा उनलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
साइबर क्राइमको आरोपमा अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेपनि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।