हिमाल दैनिक
पितृको मान र प्रकृतिको सम्मानमा किराँतले आज मनाए उधौँली पर्व

मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले आइतबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन्।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत पनि गर्दछ।

किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ।

भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्।

उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ।  

किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेषरुपमा मनाइन्छ।

उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाएका छन्।

पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्।

पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।  

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update