नेपाली कांग्रेसका नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ।
विगत केही वर्षदेखि स्वास्थ्य समस्याबाट ग्रसित ८८ वर्षिय पूर्व मन्त्री समेत रहेका सिंहको गएराती एक बजे कांग्रेस नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा निधन भएको हो।
०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहका सहयोगी तथा कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईका असल अनुयायी सिंहको निधनको खबर सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टी कार्यालय स्रोतका अनुसार, साढे ११ बजे बस्ने केन्द्रीय कार्यसमितिले सिंहप्रति सम्मान प्रकट गर्दै उनको पार्थिव शरिरलाई अपरान्ह १२ बजेदेखि २ बजेसम्म सानेपा मुख्यालय प्रांगणमा राख्ने बनाइएको छ।
त्यसपछि उनको पार्थिव शरिरलाई आजै कंकेश्वरीस्थित घाटमा ससम्मान अन्तिम दाहसंस्कार गरिने बताएको छ।
देशका बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना लगत्तै ०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको निर्वाचित मेयर बनेर महानगरपिताको उपनामले परिचित सिंहको निधनको खबर लगत्तै चाक्सीबारीमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरुको भिड लागेको थियो।
राजनीतिमा नैतिकता, निष्टा र आदर्शको जीवन जिउन सफल अविवाहित सिंह पछिल्लो समयमा मुलुकमा भएको राजनीतिक परिवर्तन र यसले स्थापना गरेको शासन प्रणालीप्रति असहमत हुँदै पार्टीको सक्रिय राजनीतिबाट टाढै रहँदै आएका थिए।