पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को लिगचरण पूरा भएको छ।
सोमवार बिहान त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबिच भएको अन्तिम लिग खेल सकिएलगत्तै एनपिएलको लिग चरणको सबै खेल सक्किएर प्लेअफमा प्रवेश गरेको हो।
यो चरण पश्चात अब लिग चरणको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भएका छन्।
एनपिएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबिच एलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ।
पहिलो क्वालिफायरको बिजेता टिम फाइनलमा जानेछ भने एलिमिनेटर टिममा परेका चितवन र कर्णालीबिचको प्रतिस्पर्धाबाट विजेता बन्ने टोलीले पहिलो क्वालिफायरकोे पराजित टिमसँग फाइनलमा स्थान बनाउन भिड्ने छ।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई ६ विकेटले पराजित गर्दै सुुदूरपश्चिमले क्वालिफायरमा स्थान बनाएको हो। कर्णाली याक्सले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमल २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गरेको थियो।
एनपिएलको फाइनल खेल भने आगामी शनिवार हुने क्यानले जनाएको छ।