
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री प्रेमलाल (पीएल) सिंहको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।
सवोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहका अत्यन्त निकट सहयोगी सादगी नेतचा सिंहको गए राती १ बजे चाक्सीबारीस्थित निवासमा निधन भएलगत्तै सोमबार पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले विभिन्न प्रस्ताव पारित गर्दै उनीप्रति उच्च सम्मान प्रकट पनि गरेको छ।
नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा संलग्न रहँदा सिंहले पटक–पटक जेल जीवन व्यतित गर्नुका साथै भारतमा निर्वासित जीवन समेत व्यतित गरेका थिए।
प्रजातन्त्र पुनस्र्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उहाँ काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए
स्वर्गीय सिंहकै पहलमा वि.सं. २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो। त्यसैगरी वि.सं. २०५६ मा उनी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य बनेका थिए।
स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ।
नेता प्रेमलाल (पीएल) सिंहको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।
\साथै, सिंहप्रति सम्मान प्रकट गर्दै सोमबारदेखि तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
साथै स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना निर्णय पनि कांग्रेसले गरेको छ।
यसरी निर्णय गरेलत्तै सिंहको पार्थिव शरिरलाई पार्टी मुख्यालय सानेपा प्राङ्गणमा राखी पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर उनीप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरे।
अपरान्ह १२ बजेदेखि २ बजेसम्म सानेपामा राखिएको सिंहको पार्थिव शरिरमा कांग्रेसका नेता, मन्त्री, विभिन्न दलका नेतादेखि सर्वसाधारण र उनका शुभेच्छुकहरुले फूल, माला चढाएर श्रद्धासुमन व्यक्त गरे।
उनको पार्थिव शरिरको अन्तिम संस्कार आजै गर्ने तयारी भइरहेको छ।