हिमाल दैनिक
रविलाई थप ४ दिन हिरासतमै राख्न कास्की जिल्ला अदालतको अनुमति

प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासत बसाइ थप चार दिन लम्बिएको छ।

पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी लगायत देशका विभिन्न सहकारीको करोडौं रुपैयाँ गैरकानूनी ढंगले आफ्ना व्यवसायिक पार्टनर गितेन्द्रबाबु (जिबी) राई, पूर्व डिआइजी छविलाल जोशी लगायतको समूहसँग मिलेर गोरखा मिडिया नेटवर्क प्रा.लि.मा दुरुपयोग गरेको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउगरी कास्की जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको प्रक्रियामा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले मंगलबार ४ दिनको हिरासत म्याद थप गरिदिएको हो।

गत कार्तिक २ गते पक्राउ परेपश्चात प्रहरीले अनुसन्धान गर्दै पटक पटक गरी आठौं पटक हिरासतकोे म्याद थपको अनुमति माग्दै आज अदालतमा उपस्थित गराएकोमा अदालतले प्रहरीलाई रविसहित सहकारीको रकम हिनामिना लगायतका आरोपमा हिरासतमा रहेका सबै प्रतिवादीको म्याद ४ दिन थप गरिदिएको हो।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेसँगै प्रहरी हिरासतमा रहेका उनका व्यवसायिक साझेदार छविलाल जोशी, नेचर हब्र्सका संचालक रामबहादुर खनाल र जिबी राइका सहयोगी लिला पछाईलाई पनि लामिछानेसँगै अदालतमा उपस्थित गराइएको थियो।

सूर्य दर्शन सहकारीको बचत हिनामिना लगायतका विषयमा अनुसन्धान गरेको प्रहरीले सोमबारमात्रै आफूले तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। जसमा ५१ जना प्रतिवादीहरुको नाम किटान गरिएपनि ३७ जना फरारको सूचिमा रहेका छन्।

प्रहरीले राईसहित लामिछानेको समूहविरुद्ध १ अर्ब ५१ करोड विगोसहितको माग दाबी गर्नु पर्ने राय सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ।

यसरी प्रहरीले आफ्नो प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेपनि वकिलको कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरी उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गर्न केही दिन आवश्यक परेको भन्दै प्रहरीले आज उनीहरुविरुद्ध ४ दिन हिरासतमा राखी अनुसन्धान जारी राख्ने अनुमति मागेको हो।

देशका विभिन्न भागमा रहेका सहकारीको रकम हिनामिनाको विषयमा संसदले गठन गरेको विशेष छानविन समितिले लामिछानेसहितको समूहले पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारीको ६४ करोड ५४ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्कमा गैरकानूनी रुपमा लगानी भएको भन्दै उनीहरुमाथि अनुसन्धान र कानूनी उपचारको मार्ग पक्रन सरकारलाइृ सुझाव दिएको थियो।

सोही आधारमा छवि, रवि लगायतका समूहलाई प्रहरीले पक्राउ गरी पोखरामा राखेपनि उनीहरु संलग्न भएका सहकारीको बचत हिनामिनाबारे सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर वयान लिने कार्य भइसकेको छ।

सम्भवत् प्रहरीको प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालय पोखराले यो म्याद सकिन नपाउँदै जिल्ला अदालतमा रविसहितका प्रतिवादीविरुद्ध अभियोजन पत्र दायर गर्ने छ। जसमाथिको प्रक्रिया पूरा भएपछि थुनछेकको बहस हुनेछ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update