गृहमन्त्री रमेश लेखकले सहकारीको रकम हिनामिना लगायतका आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मानवअधिकार हनन नभएको दाबी गरेका छन्।
बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा लेखकले रविलाई प्रहरीले चितवनबाट पोखरा लैजाने क्रममा उनको मानवअधिकारको हनन भएको भनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालदेखि स्वयं आफ्नै दल नेपाली कांग्रेसका नेताहरुले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरे।
पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा उनले स्पष्टिकरण दिँदै भने, ‘रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाने क्रममा मानवअधिकारको उलंघन भो भनेर केही साथीहरु बोल्नु भो। प्रमुख प्रतिपक्षी दलको नेता पनि बोल्नु भो। हाम्रै पार्टीभित्रका पनि केही नेताहरु बोल्नु भो। यहाँले भन्नु भाको जस्तो नागरिक समाज अथवा केही मानिसहरुबाट कुरा उठ्यो। म एउटा कुरा के आग्रह गर्न चाहन्छु भने, उहाँलाई कुनै मानवअधिकारको हनन गरेको छैन।’
पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारीदेखि बुटबलको सुप्रिम, चितवनको साहारा, पर्साको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी ऋण तथा बचत सहकारीको करोडौं रुपैयाँ गैरकानूनी ढंगले गोरखा मिडिया नेटवर्क प्रा.लि.मा गएको विषयमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीमाथि राज्यले ज्यादती र प्रतिशोधपूर्ण कार्य गरेको भन्दैै रविको पार्टीदेखि कतिपय नेता, तथा नागरिक समाजले सरकारको आलोचना गरिरहेका छन्।
यही क्रममा अनुसन्धानका लागि चितवनमा रहेका लामिछानेलाई प्रहरीले रातारात पोखरा पुर्याएको विषयमा भएको आलोचनाप्रति प्रतिवाद गर्दै मन्त्री लेखकले भने, ‘कुनै ज्यादतीपूर्ण काम गरेको छैन। कुनै अबाञ्छित गैरकानूनी, अमर्यादित काम वा व्यवहार गरेको छैन। शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो। त्यो शान्ति सुरक्षा भनेको सबैका लागि हो, उहाँका लागि पनि हो।’
आफ्नो भनाइलाई थप स्पष्ट पार्दै उनले भने, ‘किन भने, मैले हिँजो पनि थोरै भने, अनुसन्धान त हुन्छ त। आपराधिक कार्यमा अनुसन्धान हुँदैन? लाखौँ मानिसको अरबौँ रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भाको छ। दुरुपयोग भाको छ। ठगी भाको छ, हिनामिना भाको छ। कसको पैसा? त्यो सहकारीमा पैसा राख्ने मान्छे सबै धनीमानी छन्? फूटपाथमा मकै पोलेर मकै बेच्ने र त्यसबाट आएको आयआर्जनले आफ्ना सन्तान, छोरी, छोराहरुको छाक काटेर, लुगा कम गरेर बचाएर जम्मा गरेको पैसा लुटिएको छ।’
अर्कोतर्फ गरिव जनताले जम्मा गरेको पैसा हिनामिना गर्नेले उल्टै भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने भन्दै रवि र उनको पार्टीका नेता, कार्यकर्ताप्रति रोष प्रकट गरे।
एक अर्को प्रसंगमा गृहमन्त्री लेकखले सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने स्पष्ट जानकारी दिए।
वर्तमान सरकार संविधान संसोधन, राजनीतिक स्थायीत्व, संविधानको रक्षा र दिगो आर्थिक विकासका लागि गठन भएको उल्लेख गर्दै सबै दलको सहकार्यमा संविधान संशोधनको काम अगाडि बढाइने जानकारी उनले दिए।
गृहमन्त्री लेखकले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल बनाएर काम अगाडि बढाएको उल्लेख गर्दै यसमा सबै दललाई ल्याउने प्रयत्न भएको धारणा राखे।