नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहिबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ।
बिहिबार त्रिभुन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा टस जितेर बलिङ रोजेको जनकपुरसामु कर्णालीले ११९ रनको सामान्य लक्ष्य दिएपनि लक्ष्य हाँसिल गर्न भने जनकपुरलाई हम्मे हम्मे नै पर्यो।
जनकपुरका लागि जिमी निसमले सर्वाधिक ४५ रनको योगदान दिएर जित नजिक पुर्याएका थिए। त्यसका बाबजूद पनि कर्णालीका १६ वर्षीय विपिन शर्माले निमसको विकेट लिएपछि जनकपुरको स्थिति पनि धरमराएको थियो।
त्यसपछि नन्दन यादवले गरेको बलिङमा कर्णालीका किपरले क्याच छुटाउँदा फाइनल यात्राका लागि महंगो पर्यो।
फलस्वरुप जनकपुरले एक ओभर बाँकी छँदै ११९ रनको लक्ष्य पार गर्दै शनिबार सुदूरपश्चिमसँगको फाइनल यात्रा सुनिश्चित गर्यो।