नेकपा एमालेले पार्टी नेता भीमबहादुर रावलसहित तीन जना नेताविरुद्ध अनुशासनको कोर्रा बर्साएको छ।
पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गाको विषयमा विरोध जनाउने पार्टी नेता रावलका अभिव्यक्तिहरु पार्टी हितबिपरित रहेको निश्कर्ष निकाल्दै संगठीत सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठीत सदस्यबाट मुक्त गरिएको दाबी गरे।
रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको यसअघिको सरकारको कार्यशैली र पार्टी नेतृत्वको चर्को विरोध गर्दै तत्कालीन एमाले विभाजनको स्थितिसम्म पार्टीभित्रका असन्तुष्ट पक्षलाई साथ दिँदै आएपनि विभाजन पश्चात पार्टीमै क्रियाशिल रहेका थिए। त्यसपछिका दिनमा पनि रावलले निरन्तर ओलीको कार्यशैलीप्रति विमति जनाउँदै आएपछि उनलाई ०७९ को निर्वाचनमा एमालेबाट चुनावमा भाग लिन समेत बञ्चित गरिएको थियो।
त्यस्तै बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशीत गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ।
भाटभटेनी सुपरमार्केटका मालिक तथा ललिता निवासको जग्गा प्रकरणमा मुछिएका गुरुङले कलंकी नजिकै कीर्तिपुर नगरपालिकाभित्र पर्ने करोडौं रुपैयाँको जग्गा पार्टी कार्यालय निर्माणका लागि दान लिने पार्टी नेतृत्वको निर्णय अनुचित भएको भन्दै पाण्डे र तिमिल्सिनाले आपत्ति प्रकट गरेका थिए,
बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए।
वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए।
सचिवालय बैठकले संविधान संशोधन गर्न, संसदमा बिचाराधिन रहेका विधेयकलाई अन्त्य गर्नका लागि र बिभिन्न बिषयमा समान धारणा बनाउन चार–चार सदस्यीय दुईदलीय संयन्त्र बनाउने निर्णय गदै संयन्त्रको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ। बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ।
\बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी , यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताए।