आज पनि अदालतमा वयानको पालो कुर्दैछन् रास्वपा सभापति रवि
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरण लगायतका गैरकानूनी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितको टोलीलाई आज पनि अदालतमा उपस्थित गराइएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना गरेको लगायतका आरोपमा हिरासतमा रहेका लामिछानेसहित सात जनाको समूहलाई कास्की जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ततिम्बा वयानका लागि तेस्रो दिन पनि उपस्थित गराएको हो।
लामो समय लगाएर गरेको अनुसन्धान पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमार्फत गत आइतबार अदालतमा डेढ अर्ब विगोसहितको मागदाबी गर्दै अदालतमा मुद्दा दायर भएपछि कानूनी प्रक्रिया अनुसार, अदालतमा न्यायाधीश समक्ष वयानका लागि तत्कालीन गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछाने, उनका व्यवसायीक साझेदार छविलाल जोशी, नेचर हब्र्सका संचालक रामबहादुर खनाल, लिला पछाई, सहकारीका पूर्व संचालक समिति सदस्य कृष्णबहादुर गुरुङ कोषाध्यक्ष आरती गुरुङ, पूर्व सांसद मीना गुरुङलाई आज पनि प्रहरीले उपस्थित गराएको हो।
सोमबारदेखि न्यायाधीश नीतिज राईको इजलासमा सोमबार र मंगलबार छविलाल जोशी र लिला पछाईले वयान दिएपनि रविको पालो भने अझै आएको छैन।
बुधबार क्रिस्चियनहरुको पर्व क्रिसमशका कारण सरकारी विदा परेपछि उनीहरुलाई आज वयानका लागि अदालतमा उपस्थित गराइएको हो।
सूर्यदर्शन सहकारीको बचत हिनामिनाको आरोपमा आरती र मीनालाई प्रहरीले मंगलबार पक्राउ गरेपछि उनीहरुको वयान पनि अदालतमा लिइँदैछ।
तत्कालीन गोरखा मिडियाका संचालक गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर लामिछाने, जोशी लगायतको समूहले पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको अरबौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेपछि आरोपिहरुलाई सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि वयान लिइसकेको छ। त्यसमध्ये जिबी राई भने फरारको सूचिमा रहेका छन्।