हिमाल दैनिक
सहकारी ठगीबारे बिहिबारदेखि सुरु भएको रविसँगको वयान शुक्रबार पनि जारी

सहकारी ठगी लगायत विभिन्न कसुरमा मुद्दा खेप्न तयार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायाधीशसमक्ष वयानका लागि शुक्रबार पनि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा कास्की जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत कास्कीमा आइतबार पूरक अभियोजन पत्र दायर गरेपछि थुनछेकको बहस सुरु गर्नु अघि लामिछानेसहितको समूहलाई प्रहरीले जिल्ला अदालतमा निरन्तर वयानका लागि उपस्थित गराउँदै आएको छ।

सोमबारदेखि अर्का प्रतिवादीद्वय छविलाल जोशी र लिला पछाईको वयान लिने प्रक्रिया चलेपछि बिहिबार मात्रै न्यायालयमा वयानका लागि पालो पाएका लामिछानेको न्यायाधीश नीतिज राईको इजलासमा सुरु भएको वयान नसक्किएपछि प्रहरीले शुक्रबार पनि उनलाई अदालतमा उपस्थित गराएको हो।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक लामिछानेसँगै उनका व्यवसायिक साझेदार तथा सहयोगी जोशी, पछाईको वयान सकिएपनि अरु प्रतिवादी कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ समेतको वयान लिएपछि उनीहरुविरुद्ध थुनामै राखेर मुद्दा चलाउने अथवा साधारण तारिख वा धरौटीमा रिहा गर्ने भन्नेबारे थुनछेकको बहस हुने छ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र लामिछानेसहितको समूहले सूर्यदर्शन सहकारीको बचत हिनामिना गर्ने कार्यमा संगठित अपराध गरेको तथा स्रोत नखुलेको सम्पत्ति जम्मा गरेवापत जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्ध १ अर्ब ५१ करोड विगो माग दाबीसहित आइतबार मुद्दा दर्ता गरेको थियो।

उक्त समूहले यसका अतिरिक्त बुटबलको सुप्रिम, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ। जसमा उनीहरुले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा वयान दिइसकेपनि त्यसबारे मुद्दा दायर हुन बाँकी नै छ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update