हिमाल दैनिक
कहाँ हराए? कांग्रेस उपसभापति खड्कासहित महामन्त्रीद्वय थापा र शर्माका बहुचर्चित दस्तावेजहरु!


नेपाली कांग्रेसको बहुचर्चित महासमिति बैठक ललितपुरको गोदावरीमा सम्पन्न भएको पनि करिब १० महिना बित्न लाग्यो।

गत वर्षको फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको ‘नीति प्रस्ताव’, महामन्त्री गगनकुमार थापाले पेश गरेको ‘सांगठनिक प्रस्ताव’का अतिरिक्त अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘समसामयिक राजनैतिक प्रस्ताव’का विषयमा त्यतिबेला सकेजति छलफल पनि भयो।

बनकालीको कोटिहोम र सानेपाको केन्द्रीय समिति बैठक

महासमिति बैठक विशेषः कांग्रेसले विराएको बाटो र छुन नसकेको पाटो

तर, महासमिति बैठकको समापन हुँदैगर्दा पार्टीभित्रको आन्तरिक मतभेदका कारण उक्त प्रस्तावहरुबारे हलबाट कुनै निश्कर्षसहितको दस्तावेज भने आउन सकेन। महासमिति बैठकमा प्राप्त सुझावहरु समेटेर आवश्यक परिमार्जनसहित पारित गर्ने भन्दै त्यतिबेला सहभागीहरुलाई घर फर्काइएको थियो।

चौधौँ अधिवेशनमा पार्टीलाई उर्जाशील नयाँ नेतृत्वको नयाँ कार्यशैलीमा गतिशील बनाउने भन्दै बनेको पार्टीको केन्द्रीय संरचनामा पुगेका उर्जावान युवा नेताहरुले प्रस्तुत गरेको दस्तावेजहरुलाई केन्द्रीय कार्यसमिति बैठकमा पुनः छलफल र परिमार्जन गर्न भने झण्डै झण्डै पाँच महिना लाग्यो।

गत साउन २३ गतेदेखि सुरु भएर भदौ १६ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा छलफलको पहिलो एजेण्डाका रुपमा प्रस्तुत उक्त दस्तावेजमाथि विषय केन्द्रित छलफल भने विरलै रुपमा हुन सक्यो।

त्यसका बाबजूद भदौ १६ गते राती सकिएको केन्द्रीय कार्यसमिति बैठक पश्चात कतिपय नेताहरुले महामन्त्री थापाको प्रस्ताव अर्थात आगामी आम निर्वाचनमा पार्टी एक्लै कसैसँग चुनावी तालमेल नगरी चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय हुबहु पारित भयो भन्दै संचारमाध्यमा प्रचारप्रसार पनि गराए।

महामन्त्री शर्माको एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद बन्न पाउने प्रस्तावबारे पनि बाहिर मिडियामा जे जति चर्चा भयो, भयो। त्यसबाहेक पार्टीभित्र यो प्रस्तावले खासै ठाउँ पाएन।

तर, पार्टीका प्रवक्ता प्रकाशशरण महत र मुख्यसचिव कृष्णप्रसाद पौडेलले महासमिति बैठकमा पेश भएका प्रस्तावहरुमा केन्द्रीय कार्यसमितिले आवश्यक परिमार्जनसहित पारित गरेको औपचारिक जानकारी दिए।

यसरी ‘परिमार्जनसहित’ अथवा ‘हुबहु’ पारित भयो भनिएका दस्तावेजहरुमा के कति परिमार्जन भयो अथवा के कति विषयवस्तु हुबहु राखिए भन्ने जानकारी न त दस्तावेज प्रस्तुतकर्ताले नै जानकारी गराए न त पार्टीको आधिकारिक नेतृत्वले नै।

त्यसबिचमा पार्टीका मुख्यसचिवदेखि कतिपय नेताहरुले प्रस्ताव लेखनकर्ता स्वयंले नै महासमिति र केन्द्रीय कार्यसमितिबाट प्राप्त सुझावहरुलाई समेटेर अन्तिम दस्तावेज उपलब्ध गराएपछि सार्वजनिक गरिने जानकारी दिएका थिए।

त्यसका अतिरिक्त पार्टी संगठनलाई गतिशील र प्रभावकारी बनाउने उद्घोषका साथ असोज ७ गतेदेखि पुस १६ गतेसम्मको सय दिने विशेष अभियानमा केन्द्रीय प्रतिनिधि खटाउनुअघि पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले उक्त दस्तावेजहरु प्रकाशित गरी अभियानका क्रममा जाने प्रतिनिधिहरुसँगै जिल्ला जिल्लामा पठाउने तयारी भइरहेको जानकारी पनि दिएका थिए।

यसरी कांग्रेसका नीति प्रस्ताव, सांगपिरिमार्जनसहित÷हुबहु पारित गरियो भनिएको पनि आज साढे चार महिना बितिसक्यो। यसबिचमा पार्टीको सय दिने विशेष अभियान पनि केही जिल्लामा विशेष कारणबस बाकी रहेपनि अधिकांश जिल्लामा समापन समेत भइसक्यो।

तर, महासमिति र केन्द्रीय कार्यसमितिबाट पारित गरियो भनिएका दस्तावेजहरुको अन्तिम संस्करण भने प्रदेश, जिल्ला वा वडा तहमा पुग्ने कुरा त परै रहोस्, पार्टी मुख्यालय सानेपामा समेत उपलब्ध छैन।

कांग्रेस केन्द्रीय कार्यालयका एक अधिकारीले परिमार्जनसहित पारित भएको दस्तावेज छपाइका लागि अथवा पार्टीको वेभसाइटमा राखी सार्वजनिक गर्न आजका मितिसम्म पनि नआइपुगेको जानकारी दिए।

नाम नबताउने सर्तमा त्यी उच्चपदस्थ कर्मचारीले हिमाल दैनिकसँग भने, ‘उपसभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेका दस्तावेजहरुमा प्राप्त सुझावहरु समावेश गरी तयार पारेर हामीलाई दिनु होला भनेको, अहिलेसम्म दिनु नै भएको छैन भने के छाप्ने, कसरी वेभसाइटमा राखिदिने?’

गत साउन २३ देखि १६ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन बैठक सकिँदै गर्दा नेताहरुले सबै प्रतिवेदन ‘ल, ल पारित भयो, पारित भयो, परिमार्जनसहित पारित भयो,’ भन्दै बैठक कक्षबाट बाहिरएपनि के कति विषय परिमाजर्न गरियो अथवा के कति विषयवस्तु हुबहु पारित भयो भन्ने कुनै जानकारी अथवा टिपोट कसैसँग नभएको पनि त्यी अधिकारीले बताए।
 

 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update