सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत हिनामिना गरी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस प्रक्रिया अझै केही दिन लम्बिने सम्भावना बढेको छ।
सहकारीको बचत ठगी, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरण लगायतका विषयमा दोषी रहेको दाबी गर्दै कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दाकाबारेमा अदालतमा वयान दिएसँगै थुनछेकको बहस मंगलबारदेखि सुरु भएपनि उक्त मुद्दाका बादी र प्रतिवादीको तर्फबाट बहसका लागि उपस्थित कानून व्यवसायीहरुको सूचिका कारण अदालती प्रक्रिया अझै लम्बिने स्थिति बनेको हो।
सरकारी वकिलको कार्यालयमार्फत काठमाडौंदेखि पोखरा पुगेका नायव महान्यायाधीवक्क्ता सञ्जिवराज रेग्मी, उपन्यायाधीवक्ता प्रकाश गौतम लगायतले तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक लामिछानेसँगै उक्त सहकारी ठगी प्रकरणमा जोडिएका सात जनाविरुद्ध थुनामै राखेर मुद्दा अघि बढाउनु पर्ने जिकिर गरेका थिए।
न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलहरुको बहस सकिएलगत्तै आजदेखि नै जाहेरवालाहरुको तर्फबाट पनि बहस हुने र यो बहस सकिएपछि मात्रै लामिछानेसहित उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ, आरती गुरुङको पक्षबाट दुई दर्जन बढी कानून व्यवसायीले बहस गर्ने पालो आउने छ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित १५ जना, जोशीको तर्फाट ६ जना र अन्यको तर्फबाट करिब ९ जना कानून व्यवसायीले बहस गर्ने जानकारी अदालतका अधिकारीले दिएका छन्।
यसरी प्रतिवादीहरुको तर्फबाट वयान सकिएपछि त्यसको प्रतिउत्तर सरकारी वकिलको कार्यालयका तर्फबाट दिएपछि मात्रै न्यायाधीश राईले प्रतिवादीहरुलाई थुनामै राख्ने अथवा धरौटी, जमानीमा छाडेर मुद्दालाई अघि बढाउने भन्नेबारे आदेश जारी गर्ने छन्।
जसका लागि सम्भत, आगामी हप्ताको समय पनि लाग्न सक्ने सम्भावना देखिएको छ।