पछिल्लो समय चर्चाको केन्द्रमा रहन पुगेको नुवाकोटको शेरा दरबारको जग्गा सम्बन्धी विवादको विषयले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सरकारका गृहमन्त्री रमेश लेखक र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच छेडखानी भएको छ।
प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल र निर्णयका लागि बिहिबारको बैठकमा सहभागी हुन पुगेका पूर्वप्रधानमन्त्री दाहाल र गृहमन्त्री लेखकबिच सवाल÷जवाफले समितिमा विशेष चर्चा नै पायो।
समितिको बैठकमा विरलै उपस्थित हुने नेता दाहाल आजको बैठकमा उपस्थित भएर सभापतिसँग समय माग्दै बोल्ने क्रममा बहुचर्चित शेरा दरबारको जग्गाको विषयमा छानविन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई चुनौती दिए।
दाहालले राज्यको सम्पती व्यक्तिको नाममा गर्ने काममा संलग्न जोकोहीलाई कारवाही हुनुपर्ने बताउँदै आफू प्रधानमन्त्री हुँदा पनि विभिन्न भ्रष्टाचारका विषयमा सम्बन्धीत फाइलसँग सम्बन्धीत छलफलका क्रममा भ्रष्टाचारमा जोकोही दोषी देखिन्छन् भने छानविन र कानूनको दायरामा आउनु पर्छ भनेको बताए।
उनले आफ्नो भनाई दोहोर्याउँदै ‘यदि प्रचण्ड नै दोषी देखिए छानविनको दायरामा आउनु पर्छ भनेको थिएँ। अस्ती शेरा दरबारको विषयमा झापामा बोलेको बताउँदै कानून विपरित काम भएको छ भने जसरी ललिता निवासको जग्गा फिर्ता ल्याइयो त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याइयो भने सरकारलाई सहयोग मात्रै होइन, धन्यवाद पनि भन्ने छु,’ भने।
दाहालले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसअघि नै आपत्ति समेत जनाएका थिए।
भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन उपस्थित गृहमन्त्री लेखकले आफ्ना भनाईहरु टुंग्याउनु अघि दाहालले उठाएको शेरा दरबारको प्रसंगमा पनि चोटिलो जवाफ दिन छुटाएनन्।
भलै, गृहमन्त्री लेखकले बैठकको सुरुमा दाहालले प्रश्न उठाएपनि जवाफ सुन्न समय दिएर नबसेको अवस्थामा पनि समिति समक्ष आफ्ना धारणा रमाइलो पाराले राखे।
शेरा दरबारको विषयमा सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ भन्दै लेखकले भने, ‘शेरा दरबारको जग्गा सम्बन्धी विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहको छ। अनुसन्धान हुन्छ। र कानून बमोजिम कारबाही अगाडि बढ्छ। त्यो जग्गा गलत ढंगले यदि कुनै व्यक्तिका, कम्पनीका नाममा गएको छ भने, त्यो फिर्ता हुन्छ। माननीय पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदी गैरकानूनी ढंगले गएको छ भने फिर्ता हुनु पर्छ, सरकारलाई धन्यवाद दिन्छु भन्नु भा छ, म उहाँलाई धन्यवाद दिन पनि चाहन्छु र के निवेदन पनि गर्न चाहन्छु भने, मेरो प्रिय नेता पूर्वप्रधानमन्त्री माननीय प्रचण्डजीले सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ। किन भने सरकारले यसमा गर्नु पर्ने काम गर्छ, धन्यवाद लिन्छ। त्यसमा धनयवाद दिन तयार भएर बस्नु भए हुन्छ।’
त्यहीबिचमा कांग्रेस महामन्त्री गगनकुमार थापाले धन्यवाद दिन÷लिन समितिको बैठकै राख्नु पर्छ भनेपछि समितिमा हाँसो छाएको थियो।