गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण कार्यलाई तीव्रता दिने जानकारी दिएका छन्।
आईतबार बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औं बैठकमा विपदबाट भएको क्षतिको मुल्यांकन र पुननिर्माण कार्य तीव्र रुपमा अगाडि बढाउने विषयमा छलफल भएको उनले बताए।
बैठकमा डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मुल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनर्निमाणको काम अगाडि बढाउने निर्णय भएको मन्त्री लेखकले जानकारी दिए।
स्मरण रहोस्, उक्त जिल्लामा ०८० सालको वर्षातसँगै असोजमा भुकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो। जसबाट पीडित स्थानीय बासिन्दाहरु अहिले पनि सरकारबाट राहत र पुनस्र्थापनाको पर्खाइमा बसिरहेका छन्।
एक वर्षअघि नै उक्त क्षेत्रमा भएको क्षतिको मूल्याङकन तथा पुननिर्र्माण कार्य गरिसक्नु पर्ने दायित्व बोकेको प्राधिकरणको आजको बैठकमा मात्रै गृहमन्त्री लेखकले क्षतिको मूल्याङकन गरिने जानकारी दिएपछि उक्त निकायको दायित्व र समस्याप्रतिको गम्भीरतामाथि नै प्रश्न उठेको छ।
मन्त्री लेखकले विपद क्षतिको मुल्यांकन भइसकेको ठाउँमा पुनर्निमाण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको बताए।
गृहमन्त्री लेखकले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धि मापदण्ड केही समयअघि पारित भइसकेको बताउँदै आगामी माघ तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मुल्यांकन कार्य सुरु हुने पनि जानकारी गराएका हुन्।
राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले गरेका निर्णयहरु प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज साँझ बस्ने विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा पेश गर्ने मन्त्री लेखकले बताए।