हिमाल दैनिक
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस जारीः रविका वकिलको पालो आज

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत ठगी, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरणको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेकको बहसका लागि पुगेका कानून व्यवसायीहरुको पालो आज आएको छ।

कास्की जिल्ला प्रहरीले तयार पारेको अनुसन्धानका आधारमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा केही दिनअघि दायर गरेको रिट निवदेनबारे वयान लिने क्रम सकिएलगत्तै अघिल्लो साता सुरु भएको थुनछेकको बहस प्रक्रियमा तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका लामिछानेको तर्फबाट बहसको पालो आज आएको हो।

काठमाडौंदेखि कास्की पुगेका वरिष्ठ अधिवक्ता सुशील पन्तदेखि रास्वपा सांसद सोविता गौतमका अतिरिक्त करिब १५ जना कानून व्यवसायीले लामिछानेको विरुद्ध परेको रिट निवेदनमा थुनछेकको बहसमा भाग लिने छन्।

उनीहरुले रविलाई थुनामा नराखी रिहा गर्न र हिरासत बाहिरै राखेर पनि मुद्दाको छिनोफानो गर्न सकिने दलिल अदालतमा पेश गर्दैैछन्।

यसअघि उक्त मुद्दामा पक्राउ परी हिरासतमा रहेका छविरा जोशी, लिला पछाईको पक्षका कानून व्यवसायीले बहस गरिसकेका छन् भने रविको पक्षका वकिलले बहस गरिसकेपछि उक्त मुद्दाका अन्य प्रतिवादीहरु मीना गुरुङ, रामबहादुर खनाल लगायतका व्यक्तिको पक्षबाट वकिलले बहस गरिसकेपछि सरकारी वकिलको कार्यालयबाट न्यायाधीश नीतिज राईको इजलासमा प्रतिरक्षा बहस हुनेछ।

त्यसपछि मात्रै न्यायाधीश राईले प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने वा धरौटी अथवा हाजिर जमानी अथवा सामान्य तारेखमा छाड्ने भन्ने टुंगो लगाउने छन्।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update