सत्तारुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी सोमबारको बैठकमा पार्टीका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ।
आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सूरु भएको एमाले केन्द्रीय कमिटीको आठौं बैठकमा आज पार्टीका सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनसँगै महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठिन प्रतिवेदनमाथि आफ्नो राय, सुझाव दिने क्रम सुरु भएको हो।
आइतबारको बैठकको सुरुमै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै अहिले मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको दाबी गरेका थिए।
ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएको बताएका थिए।
ओलीले प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको भन्दै एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे।
प्रतिवेदनमा माओवादी केन्द्र राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुरÞ्याउन उद्धत देखिएको र यसका लागि पूर्व राजावादीहरूसँग बाक्लै उठबस समेत देखिएको ओलीको दाबी छ।
बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका ६ महिना लगाएतका बिषयमा स्पष्ट पार्नखोज्नुभएको केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका थिए।
बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्तुत भएको र पारित समेत भएको केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले बताए।
त्यस्तै पार्टीका नेताहरुमाथि भएको कारवाहीलाई पनि बैठकले सर्वसम्मत रुपमा पारित गरिएको उनले बताए।
बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको बहस नोट कमिटी तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ। बैठक मंगलबार सम्पन्न गर्ने एमालेको तयारी छ।