हिमाल दैनिक
भुकम्पमा परी चीनमा मर्नेको संख्या ५३ पुग्यो, ६२ घाइते
Photo: China Xinhua News @XHNews

मंगलबार बिहान गएको शक्तिशाली भुकम्पमा परी चीनको स्वशासित क्षेत्र तिब्बतमा ५३ जना सर्वसाधारणको मृत्यु भएको छ।

चिनियाँ सरकारी संचारमाध्यमहरुका अनुसार, मंगलबार नेपाली समय अनुसार, ६ः५० मिनेटमा चीनको स्वशासित क्षेत्र तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टर स्केलको भुकम्पमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएका छन्।

काठमाडौंबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा पर्ने दिङ्गे क्षेत्रमा १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाएर गएका शक्तिशाली भुकम्पका कारण उक्त क्षेत्रमा घरहरु भत्किएको छ भने यसबाट भएको भौतिक क्षतिको विस्तृत विवरण आउन अझै बाँकी नै छ।

उक्त भुकम्पपछिको समयमा पनि पटक पटक पराकम्पन आइरहेको संचार माध्यमहरुले जनाएका छन्।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्व्हाका अनुसार, चिनियाँ सेनाले अहिले भुकम्पको प्रमुख केन्द्र रहेको क्षेत्रमा राहत तथा उद्दारका लागि स्वयं सेवक परिचालन गर्नुका साथै ड्रोन परिचालन गरी विस्तृत विवरण संकलन गर्दैछ।

उक्त भुकम्पको धक्का सीमानाको आसपासमा रहेका जिल्लामा मात्रै होइन, नेपालको राजधानी काठमाडौंमा पनि परेको थियो।

सम्भवत् ०७२ साल वैशाख १२ र २९ गतेपछि यताको समयमा काठमाडौंबासीले पहिलो पटक यति ठूलो र लामो समयसम्म हल्लाएको महसुस गरे। बिहानको समयमा आएको भुकम्पको धक्काका कारण राजधानीका घरहरुमा बसेका सर्वसाधारण मानिसहरु हतारिँदै सडकमा कराउँदै निस्किएका थिए। उक्त भुकम्पको धक्का पूर्वी पहाडी जिल्लासँगै तराई र भारतको बिहारसम्म महसुस भएको समाचार माध्यमहरुले जनाएका छन्।

यसरी आएको भुकम्पको कारण नेपाली भूभागमा भएको भौतिक तथा मानविय क्षतिबारे विस्तृत विवरण आउन अझै बाँकी छ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update