हिमाल दैनिक
तिब्बतको भुकम्पमा परी मर्नेको संख्या ९५, घाइतेको संख्या १३० पुग्यो
Photo: China Xinhua News @XHNews

मंगलबार बिहान गएको शक्तिशाली भुकम्पमा परी चीनको स्वशासित क्षेत्र तिब्बतमा ९५ जना सर्वसाधारणको मृत्यु भएको छ।

चिनियाँ सरकारी संचारमाध्यमहरुका अनुसार, मंगलबार नेपाली समय अनुसार, ६ः५० मिनेटमा चीनको स्वशासित क्षेत्र तिब्बतको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टर स्केलको भुकम्पमा परी स्थानीय समय ३ बजेसम्म ९५ जनाको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन्।

काठमाडौंबाट करिब ९० किलोमिटर उत्तरपूर्वमा पर्ने दिङ्गे क्षेत्रमा १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाएर गएका शक्तिशाली भुकम्पका कारण उक्त क्षेत्रमा घरहरु भत्किएको छ भने यसबाट भएको भौतिक क्षतिको विस्तृत विवरण आउन अझै बाँकी नै छ।

चिनीया राष्ट्रपतिले भुकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारका लागि जुट्न त्यहाँको सुरक्षा निकायदेखि अन्य सरकारी निकाय र सर्वसाधारणलाई आग्रह गरेका छन्।

उक्त भुकम्पपछिको समयमा पनि पटक पटक पराकम्पन आइरहेको संचार माध्यमहरुले जनाएका छन्।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्व्हाका अनुसार, चिनियाँ सेनाले अहिले भुकम्पको प्रमुख केन्द्र रहेको क्षेत्रमा राहत तथा उद्दारका लागि स्वयं सेवक परिचालन गर्नुका साथै ड्रोन परिचालन गरी विस्तृत विवरण संकलन गर्दैछ।

उक्त भुकम्पको धक्का सीमानाको आसपासमा रहेका जिल्लामा मात्रै होइन, नेपालको राजधानी काठमाडौंमा पनि परेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update