हिमाल दैनिक
कांग्रेस–एमालेको सत्ता गठबन्धनले राजनीतिक स्थायित्वको आशा जागृत गराएको छः एमाले

नेकपा (एमाले)ले ठूला दुई दल मिलेर सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको दाबी गरेको छ।

मंगलबार पार्टी कार्यालय च्यासलमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष निकालेको हो।

बिभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराउदै सरकारको सफलताको लागि हरसम्भव योगदान गर्न प्रतिवद्ध रहने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठकले प्राप्त उपलव्धीको संरक्षण र राजनीतिक स्थायीत्वलाई सुनिश्चित गर्ने गरि बृहत समझदारी र सहभागीतामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अघि बढाउन सरकारसंग आग्रह गरिएको गौतमले बताए।

त्यस्तै एमालेको नेतृत्वमा निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजनलगायतका कारणले पार्टी बाहिर रहेका सबै नेता र स्वतन्त्र ढङ्गले क्रियाशील रहेकाहरूलाई एमालेमा फर्कन आग्रह गरेको पनि उनले बताए।

त्यस्तै केन्द्रीय कमिटी बैठकले ८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ भने भ्रामक र झुट्टा सूचना प्रवाह गर्ने क्रमलाई रोक्न नियामक निकायहरूलाई प्रभावकारी बनाउन समेत सरकारसँग माग गरेका छ।

बैठकले अध्यक्ष केपी ओलीको राजनीतिक तथा महासचिव शंकर पोखरेलको सांगठानीक प्रतिवेदन पारित गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update