हिमाल दैनिक
सभापति र सदस्यबिचको स्तरहिन भनाभन र झगडाले संसदीय समितिकै बेइज्जत गरायो

प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिमा पछिल्लो समय समितिका सभापति र सदस्यहरुबिच चर्को विवाद र भनाभनको क्रम क्रमशः बढ्दै जाँदा मिनी संसदको नामले परिचित समितिको औचित्यमाथि नै प्रश्न उठ्ने खतरा उत्पन्न भएको छ।

विगतमा संसदको सार्वजनिक लेखा समितिबाट सुरु भएको विवाद राज्य व्यवस्था तथा सुशासन समिति हुँदै आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसम्ममा समिति सदस्य र सभापतिबिच भनाभन र बाजाबाजको स्थितिमा बैठक समापन हुन पुगेको हो।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा समितिका सभापति राजकिशोर यादव र नेमकिपाका सांसद प्रेम सुवालबिच चर्काचर्की हुँदा समितिका अन्य सदस्य र कर्मचारीदेखि पत्रकारहरु रमिते बने।

बैठकको निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित हुँदै प्रतिवादमा उत्रिएपछि भनाभन भएको हो।

सांसद सुवालले आफ्नो असहमति राख्दै गर्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए।

सुवालले समितिका सभापति निरंशुक ढंगले चल्न नहुने बताइरहदा सभापति यादवले भने निरंशुक बन्ने भन्दै जवाफ फर्काए।

त्यसपछि स्थिति थप बिग्रीदै गएपछि सभापति यादव आफ्नो कुर्सीबाट उठेर प्रतिवाद गरिरहँदा सांसद सुवालले यादवलाई समितिको सभापति समितिकै सभापतिको भूमिकामा नरही सत्ताको पुच्छर बनेको आरोप लगाए।

सुवालले यादवलाई झपार्दै भने, ‘तपाई बढ्ता नहुनुहोस्। समितिको सभापति भएर सत्ताको पुच्छर नबन्नुहोस्। यसरी नै बढ्ता हुने हो भने, तपाई पनि पार्टीको तर्फबाट एक्लै हो र म पनि एक्लै हो। यस्तै हो भने, तपाइलाई सिध्याइदिन्छौँ। तपाई सिद्धिनुहुन्छ।’

नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थीति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए।

यसअघि पनि माओवादी सांसद सुदन किराती, सांसद सुवाल लगाएतसंग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो।

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update