हिमाल दैनिक
सहकारी प्रकरणमा रविलाई तत्काल क्लीनचिट दिन अस्वीकार

पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी लगायतका आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

जिल्ला न्यायाधीश नीतिज राईको इजलासले बिहिबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरण मुद्दामा अभियोग मुद्दा खेपिरहेका लामिछानेसहित उनका पूर्व व्यवसायिक साझेदार छविलाल जोशी समेत ७ जनालाई नै तत्काल निर्दोष भन्न नमिल्ने भन्दै फरक फरक रकमको धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दायर गरेको थियो। एक साता लामो थुनछेक बहसपछि बिहीबार न्यायाधीश राईको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न भनेको हो।

सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको दाबी गर्दै आएका रविको विषयमा न्यायाधीश राईले आदेशमा भनेका छन्, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू।’

कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध पुस ७ गते जिल्ला अदालत कास्कीमा अभियोग दर्ता भएको थियो। 

त्यसैगरी अदालतले रविका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको छ भने नेचर हब्र्सका संचालक रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, पूर्व सांसद मीना गुरुङ र आरती गुरुङसँग ५÷५ लाख तथा कृष्णबहादुर गुरुङसँग १ लाख धरौटी माग गरेको छ। 

गोरखा मिडिया नेटवर्कका सञ्चालकसहित तत्कालीन प्रबन्ध निर्देशक लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी माग गरिएको छ। लामिछानेविरुद्ध सहकारी ठगीमा भने ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको थियो।

त्यस्तै गोरखा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडिआइजी छविलाल जोशीले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरणको मुद्दा परेको छ।
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update