हिमाल दैनिक
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध थुनछेक बहस सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं अदालतमा उपस्थीत गराइएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत ठगी प्रकरणमा मुद्दा झेलिरहेका लामिछाने आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा वयान दिएपनि थुनछेकको बहस हुन नसक्दा न्यायिक हिरासतमा पठाइएका लामिछानेलाई सोमबार १० बजे अदालतमा उपस्थित गराइएको थियो।

काठमाडौं जिल्ला प्रहरी कार्यालयले कार्यालय समय खुल्नासाथ जिल्ला अदालतमा उपस्थित गराएसँगै उनलाई हिरासतमै राखेर मुद्दा अघि बढाउने अथवा सामान्य तारिख अथवा धरौटीमा रिहा गरिदिने भन्नेबारे अदालतमा थुनछेकको बहस सुरु भएको छ।

गत कार्तिक २ गते पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा पक्राउ परेका लामिछानेलाई पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटी लिएर हिरासतमुक्त गरिदिएको थियो।

हिरासत मुक्त भएलगत्तै सोही प्रकृतिको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेसँगै उनीलगायत अपराधमा संलग्न व्यक्तिहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको अवस्थामा लामिछाने आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए।

प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ।

गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर गोरखा मिडिया नेटवर्क प्रा.लि. संचालन गरेका लामिछानेसहितको समूहविरुद्ध सहकारीको रकम हिनामिना लगायतका आरोपमा पोखरा र काठमाडौंका अतिरिक्त चितवनको साहारा, वीरगञ्जको सानो पाइला र बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको पनि आरोप लागेको छ।
 

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update