नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई छलफलका लागि बोलाएका छन्।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गत साउनको सुरुमै बनेको सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने १० जना मन्त्री र दुई राज्यमन्त्रीलाई सभापति देउवाले छलफलका लागि बोलाएका हुन्।
सभापति देउवाको सचिवालयबाट प्राप्त जानकारी अनुसार, सरकारका सबै जना मन्त्री, राज्यमन्त्रीसँगै पार्टी संसदीय दलका पदाधिकारीलाई बिहिबार सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा आउन भनेका हुन्।
स्रोतका अनुसार, सरकारको प्रभावकारीतासँगै सरकारमा सहभागी पार्टीका मन्त्रीहरुको कार्यशैलीसँगै आगामी संसद अधिवेशनमा सरकारको प्रभावकारीताबारे मन्त्री र दलका पदाधिकारीसँग विस्तृत छलफल हुने बताइएको छ।
विशेषगरी सरकारले संसद अधिवेशन बोलाउन ढिलाई गरिरहेको अवस्थामा सरकारले हालै जारी गरेका अध्यादेश र त्यसले पार्न सक्ने असरकाबारेमा पनि भोलिको बैठकमा छलफल हुनेछ।
पाँच महिनाअघि पुरानो गठबन्धन भत्काउँदै संसदको पहिलो र दोस्रो ठूलो दल क्रमशः कांग्रेस र एमालेबीच ७ बुँदे सहमति बमोजिम गठन भएको सरकारले देश र जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी आर्थिक, सामाजिक र राजनीतिक सुधारका कामहरु गर्ने अपेक्षा गरिएको थियो।
तर, विगत पाँच महिनाको अवधिमा सरकारको कार्यशैली र प्रभावकारीताको विषयले गति नलिएपछि वर्तमान सरकार र यसका मन्त्रीहरुको विषयमा पनि आलोचना हुन थालिसकेको छ।
त्यसमाथि स्वयं सत्तापक्षकै कतिपय नेताहरुको हवला दिँदै विभिन्न राजनीतिक विश्लेषक र संचारमाध्यमले वर्तमान सरकारको स्थायित्व र निरन्तराका बारेमा अनेक अड्कलबाजी र हल्ला गरिरहेका बेला सभापति देउवाले मन्त्रीहरुलाई छलफलका लागि बोलाएपछि यसबारे थप चासो बढ्न पुगेको हो।