
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघको प्रतिनिधि प्रमुखका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ईयान मार्निनसँग लण्डनमा भेटवार्ता गरेका छन्।
बेलायत भ्रमणमा रहेका कांग्रेस नेता कोइरालाले आज तत्कालीन नेपालको शान्ति प्रक्रियामा प्रक्रियामा निकै महत्त्वपूर्ण भमिका खेलेको अनमिनका नेपाल प्रमुख मार्टिनसँग लण्डनमा भेटवार्ता गरेको कोइरालासँगै रहेका उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए।
थपलियाका अनुसार, कोइरालासँगको भेटवार्ताका क्रममा मार्टिनले अहिले पनि नेपालको शान्ति प्रक्रिया अझै नटुङ्गिएकोले जतिसक्दो छिटो यसलाई टुङ्गयाउन सुझाव दिएका थिए।
‘कोइरालासँगको भेटमा उहाँले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताउँनुभयो। तत्कालीन समयमा बिद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उहाँको जोड थियो,’ कोइरालाका सहयोगी थपलियाले भेटवार्ताबारे जानकारी दिँदै भने।
तत्कालीन नेकपा माओवादीको दश वर्षलामो हिंसात्मक द्वन्द्धलाई ०६३ सालमा विधिवत अन्त्य गर्दै भएको विस्तृत शान्ति सम्झौता लगत्तै उक्त शान्ति प्रक्रियालाई सघाउन संयुक्त राष्ट्र संघको शान्ति मिशनको प्रमुखका रुपमा मार्टिन नेपाल आएका थिए। जसमा उनले माओवादीसँगको हतियार व्यवस्थापनदेखि लडाकूको व्यवस्थापनको प्रक्रियासम्म नेपाललाई सहयोग गरेका थिए।