हिमाल दैनिक
हिरासत मुक्त हुन ६५ लाख धरौटी बुझाएको हप्तादिन नबित्दै काठमाडौंमा अर्को रु. ६० लाख  चाहियो रविलाई

स्वर्णलक्ष्मी बहुउद्देश्यीय बचत तथा ऋण सहकारीको बचत ठगीको आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटी माग गरेको छ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.मा दुरुपयोग गरी ठगी गरेको आरोपमा काठमाडौं जिल्ला प्रहरीको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत दर्ता भएको मुद्दाको थुनछेक बहसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार लामिछानेलाई ६० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेश पश्चात सहकारी ठगीको आरोपमा मुद्दा झेलिरहेका लामिछाने र उनका सहयोगीहरु आजै धरौटी रकम बुझाएर प्रहरी हिरासतबाट मुक्त हुने तयारीमा लागिरहेका छन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना, संगठित अपराध तथा सम्पत्ति सुद्दिकरणको मुद्दामा ८४ दिन पोखरास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रवि पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर हिरासत मुक्त भएका थिए।

त्यसलगत्तै गत आइतबार काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको मुद्दामा वयानका लागि उपस्थित भएका लामिछानेलाई वयान लिने र थुनछेक बहस गर्ने क्रम जारी रहेपछि आइतबारदेखि प्रहरी हिरासतमा पठाइएको थियो।

आजै बिहान ११ बजे अदालतमा उपस्थित गराइएका लामिछानेका कानून व्यवसायीले उनको रिहाइका लागि बहस गरेपछि सरकारी वकिलको कार्यालयका कानून व्यवसायीहरुले उनलाई थुनामै राख्न अदालतसमक्ष माग गरेपनि जिल्ला न्यायाधीश अधिकारीले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

आजको अदालती प्रक्रियामा रहेका लामिछानेको रिहाइको माग गर्दै उनको पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको बाक्लो भिडले आज सहकारी पीडितको तर्फबाट अदालतमा बहसका लागि पुगेका कानून व्यवसायी दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्रै हातपातको प्रयास भएको थियो। जसलाई त्यहाँ उपस्थित सुरक्षाकर्मीले रोकेका थिए।

यसपछि पनि चितवनको साहारा, वीरगञ्जको सानो पाइला र बुटबलको सुप्रिम सहकारी ठगीको आरोप लागेका लामिछानेलाई उक्त जिल्लामा यसैगरी वयान र थुनछेकको बहसमा उपस्थित हुनु पर्ने पक्कापक्की छ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update