हिमाल दैनिक
अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा उत्रिए कानून व्यवसायी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन्।

आइतबार बार परिसर रामशाहपथमा सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा कानून व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध जनाएका हुन्।

उनीहरुले वरिष्ठ अधिवक्तामाथि आक्रमण गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन्। त्यस्तै कानून व्यवसायीको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरुले बताएका छन्।

विरोध प्रदर्शनका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सवै एकताबद्ध भएर कानून व्यवसायीमाथि भएको आक्रमणको विरोध गर्नुपर्ने बताए।

कानून व्यवसायी असुरक्षित भए अदालत नै असुरक्षित हुने भएकाले सरकारले ध्यान दिनुपर्ने उनले बताए।

घिमिरेले कानून व्यवसायीमाथिको आक्रमण लोकतन्त्रमाथि लाग्न खोजेको ग्रहण भएको जिकिर पनि गरे।

त्यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले कानून व्यवसायीमाथि भइरहेको आक्रमण रोक्न एकता आवश्यक रहेको बताए।

उनले त्रिपाठीमाथि भएको आक्रमणको विस्तृत रुपमा अनुसन्धान गरेर सवैलाई कानूनको कठघरमा उभ्याउनुपर्नेमा जोड दिए।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी न्यायीक प्रक्रियाको अभिन्न अंगको रुपमा रहेको कानून व्यवसायीमाथिको आक्रमण उचित नभएको दाबी गरे।

उनले उक्त घटनाको जिम्मेवारी रास्वपाले लिनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने माग गर्दै आफुले बहस गर्दै फर्कदा आफुमाथि भौतिक आक्रमण भएको जानकारी दिए।

गत बुधबार काठमाडौँ जिल्ला अदालतमा सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा अदालत परिसरमा सहकारी ठगी लगायतका मुद्दाको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको भिडले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको थियो।

 

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update