काठमाडौं उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका घर–टहरा भत्काउन सुरु गरेको छ।
प्राधिकरणले मापदण्ड बिपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नअपनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो।
सोही क्रममा आइतबार काठमाडौ महानगर वडा नंवर ७ मालपोत कार्यालय नजिकै रहेको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना भत्काइएको छ। अतिक्रमित संरचना हटाउने क्रममा केहि व्यक्तिहरुले विरोध समेत गरेका थिए।
धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै आम्दानी स्रोतका लागि बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतले जानकारी दिए।
बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, पार्टी प्यालेश अस्पताल, विद्यालयलगाएतका संरुचना बनाउनका लागि अनिवार्य रुपमा अनुमति लिनुपर्ने बताए।
प्राधिकरणले स्वीकृति नलिई संरचना बनाइएको पाइएमा संरचना भत्काउनुका साथै कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ।
मापदण्ड बिपरित संरचना बनाएको पाइए जिल्ला आयुक्तको कार्यालयमा उजुरी दिन समेत प्राधिकरणले आग्रह गरेको छ।