राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदनको अधिवेशन माघ १८ गतेका लागि आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा संघीय संसदको विधेयक अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा माघ १८ गते शुक्रबार अपरान्ह १ बजेका लागि बोेलाएका हुन्।
गत असोजको पहिलो सातामै कतिपय महत्वपूर्ण विधेयकहरु समेत पारित नगरी अन्त्य भएको संसदको बजेट अधिवेशन पश्चात लामो समयसम्म पनि सरकारले संसदको अधिवेशन नबोलाई कतिपय महत्वपूर्ण कानूनहरुलाई अध्यादेशको माध्यमबाट संशोधन गरेपछि विपक्षी दलले विरोध जनाउँदै संसद अधिवेशन बोलाउन सरकारसँग माग गर्दैआएका थिए।
यसैबिचमा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको विधेयक अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय अभ्यास र परम्परा अनुसार, सरकारले वर्षको दुई पटक संसद अधिवेशन बोलाउन चलन छ। जसलाई हरेक वर्षको वैशाख÷जेठमा नयाँ आर्थिक वर्षका लागि सरकारको नीति, कार्यक्रमसँगै वार्षिक बजेट पेश गर्न बोलाइने अधिवेशनलाई बजेट अधिवेशन अथवा वर्षे अधिवशेन र मंसिर÷पुसपछि विभिन्न कानून संशोधन वा नयाँ कानून निर्माणका लागि बस्ने अधिवेशनलाई हिउँदे अधिवेशन अथवा विधेयक अधिवेशन पनि भन्ने गरिन्छ।