हिमाल दैनिक
सुप्रिम सहकारी ठगीबारे रविको मुद्दा योगीको इजलासमा

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी र संगठित अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा परेको छ।

इलाका प्रहरी कार्यालय बुटवलले सुप्रिम सहकारीको बचत हिनामिना तथा अनियमितताको विषयमा गरेको पूरक अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले माघ ६ गते जिल्ल अदालत रुपन्देहीमा तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का प्रबन्ध निर्देशक लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता गरेपछि वयानका लागि बुधबार लामिछाने जिल्ला अदालतमा उपस्थित भएका थिए।

लामिछाने र उनका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशी २२ जना अभियुक्तविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ विगो माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता भएपछि केही दिनअघि मात्रै काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत हिनामिना लगायतको विषयमा ६० लाख धरौटी बुझाएर हिरासत मुक्त भएका लामिछाने यस्तै प्रकृतिको मुद्दामा बुटवल पुगेका हुन्।

उनीविरुद्धको मुद्दाको विषयमा अदालतले बुधबारको गोलाप्रथाबाट इजलास छनौट गर्दा न्यायाधीश योगीको इजलासमा उक्त मुद्दा परेको हो।

जिल्ला न्यायाधीश योगीको इजलासमा आज सुरुमा न्यायाधीशले लामिछानेको वयान लिने छन्।

लामिछानेको वयान सकिएलगत्तै उक्त मुद्दाको विषयमा लामिछानेलाई हिरासतमै राखेर मुद्दा अघि बढाउने अथवा सामान्य तारिख वा धरौटीमा रिहा गर्ने भन्नेबारे सरकारी वकिलको कार्यालयका वकिल र प्रतिवादीका तर्फबाट उपस्थित कानून व्यवसायीले थुनछेकको बहस सुरु गर्ने छन्।

अदालतमा हुने थुनछेकको बहस प्रक्रियाको सुरुमा सरकारी वकिलको कार्यालयका तर्फबाट सरकारी वकिलहरुले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन माग गर्नेछन् भने लामिछानेको तर्फबाट उपस्थित हुने कानून व्यवसायीले त्यसको विपक्षमा बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

त्यसपछि मात्रै न्यायाधीशले उक्त मुद्दामा लामिछानेलाई थुनामा राख्ने वा सामान्य तारिख वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश दिने छन्।

यसअघि गत कार्तिक २ गते पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत हिनामिना, संगठित अपराध तथा सम्पत्ति सुद्धिकरणको कसुरमा जिल्ला प्रहरी कास्कीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो।

जसको अनुसन्धान प्रक्रिया सकिएलगत्तै अदालतमा दर्ता भएको मुद्दामा गत पुस २५ गते न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा हिरासत मुक्त गरिदिएको थियो।

त्यसलगत्तै काठमाडौंस्थित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणको मुद्दा झेल्न पुगेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पनि ६० लाख धरौटीमा हिरासत मुक्त गरिदिएको थियो।

गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालक गितेन्द्रबाबु (जिबी) राईसँगको व्यवसायिक साझेदारीमा टेलिभिजन चलाउन पुगेका लामिछाने र जोशी लगायतको समूहले पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिमका अतिरिक्त चितवनको साहारा र पर्साको सानो पाइला बचत तथा ऋण सहकारीको करोडौं रुपैयाँ बचत हिनामिना गरेको आरोप लागेको छ।

जसको कारण अहिले पनि जिबी राई फरार छन् भने लामिछाने र जोशी लगायतका अभियुक्त कहिले हिरासतमा बसेर अनुसन्धान प्रक्रियामा सहभागी हने र क्रमशः लाखौँ रुपैयाँ धरौटी बुझाएर हिरासत मुक्त हुने क्रम चलिरहेको छ।

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update