हिमाल दैनिक
सरकार परिवर्तन हुने कुरा निराधार हल्ला मात्रै होः नेता कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको स्पष्ट पारेका छन्।

कोइराला निवास विराटनगरमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस नेता कोइरालाले कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा बनेको सरकार परिवर्तन हुने कुरा निराधार भएको बताए।

पछिल्लो समय सरकारमा सहभागी दलका कतिपय नेतादेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका अभिव्यक्तिलाई आधार बनाएर आमसंचार माध्यम र सामाजिक संजालमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारको निरन्तरताको विषयमा उठेका आशंकाकाबिच कोइरालाले सरकारको निरन्तरताबारे आफ्नो धारणा राखेका हुन्।

उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पार्दै दुई दलबीच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए।

सरकार संचालनको विषयमा दुई दलीय संयन्त्रको विषयमा गम्भीर आपत्ति प्रकट गर्दै नेता कोइरालाले लोकतान्त्रिक शासन व्यवस्था सत्ताको संचालन सरकार स्वयंले गर्नु पर्ने बताए।

नेकपा एमाले र कांग्रेस नेतृत्वले सत्ता संचालनको सवालमा बेग्लै संयन्त्र बनाएको तर्फ लक्षित गर्दै उनले भने, ंसत्ता संचालनका लागि बेग्लै संयन्त्रको व्यवस्था कम्युनिष्ट शासनमा मात्रै हुन्छ। जस्तो ०५१ सालको निर्वाचन लगत्तै गठित तत्कालीन नेकपा एमालेको अल्पमत सरकारको पालामा सुरु भएको थियो। जसले सरकारको संचालन गर्दा कुनै पनि मन्त्रालयमा एमाले बाहेक अरुको विषयको सुनुवाई हुँदैनथ्यो।’

पछिल्लो समय चर्चाको शीखरमा रहेको संविधान संशोधनको विषयमा नेता कोइरालाले संविधान सबै नेपालीको साझा दस्तावेज भएको भन्दै त्यसको संशोधन गर्दा सबै राजनीतिक दलको सहमतिमा सर्वस्वीकार्य बनाउन सुझाव दिए।

उनले भने, ‘संविधान भन्ने वित्तिकै के हुन्छ भने, नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन। नेपाली कांग्रेस र एमालले ट्रिगर गर्ला, सुरु गर्ने कुरा हुन्छ तर, एमाले (सरी) माओवादी, मधेसका दलहरु, अन्य दलहरु, राप्रपा लगायत जति छन् रास्वपा सबैसित सहमति गरेर अगाडि जानु पर्ने हुन्छ।’

संविधान जस्तो साझा दस्तावेजमा संशोधन गर्दा सबैलाई पाच्य र सर्वस्वीकार्य हुनु पर्ने धारणा राख्दै उनले भने, ‘संविधान यस्तो डकुमेन्ट हो, जो कि सबैलाई पाच्य हुनु पर्यो। एक्सेप्टेबल हुनु पर्यो। अनि मात्रै हुन सक्छ। नत्र भने नेपाली कांग्रेस र एमालेमात्रै दुई तिहाई बनायो अनि अब हामी गर्दिन्छौँ भनेर भन्नु चाहिने गलत हुन्छ।’

पछिल्लो समय पार्टीकै महामन्त्रीद्वयले सरकारको स्थायित्वबारे चिन्ता व्यक्त गर्दै संसदीय लोकतान्त्रिक अभ्यासको विकल्पमा निर्वाचनमा सबैभन्दा ठूलो दलले पाँच वर्ष निरन्तर सरकार चलाउने विषयमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कोइरालाले त्यसपछि विमति जनाए।

उनले भने, ‘नेपाल जस्तोे बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकोले र दुइटा ठूला देशको बिचमा हामी छौँ। त्यहाँ पाल्र्यामेन्ट्री सिस्टम (संसदीय लोकतान्त्रिक प्रणाली) नै बेटर हुन्छ जस्तो लाग्दछ मलाई।’

यसैगरी पछिल्लो समय सरकारले जारी गरेका अध्यादेश र त्यसले निम्त्याएको विवादबारे प्रतिक्रिया दिँदै नेता कोइरालाले अध्यादेशले समेटेका धेरैजसो विषयवस्तु ठिकै वा राम्रै भएपनि संसदमा स्पष्ट बहुमत प्राप्त सरकारले संसदमार्फत नै ऐन, कानून संशोधनको प्रक्रियाबाट अघि बढ्दा उपयुक्त हुने धारणा राखे।

त्यसैगरी पार्टीको १५औं महाधिवेशनको सन्दर्भमा कोइरालाले आगामी निर्वाचनको अगाडि वा पछाडि गर्दा अप्ठ्यारो स्थितिको सामना गर्नु पर्नेतर्फ सचेत गराउँदै पार्टीको महाधिवेशन तोकिएको समय अर्थात ०८२ मंसिरमा नै गर्न सुझाव दिए।

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिएका नेता कोइरालाले भने, ‘अधिवेशन समयमै हुनु पर्यो। अहिले पनि समय छ। ०८२ मंसिर त हामीहरुको डेटलाइन नै हो नि।’

 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update