हिमाल दैनिक
हामीले ढाल्न नलागेपनि ओली नेतृत्वको सरकार धेरै टिक्दैनः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार धेरै लामो समयसम्म अगाडि नजाने दाबी गर्दै यसका बाबजूद आफूहरु सरकार ढाल्ने कसरतमा नलागेको दाबी गरेका छन्।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनको जन्म नै अबैध, अलोकतान्त्रिक र अप्राकृतिक ढंगले भएको कारण धेरै लामो समय जाँदैन भन्ने बुझाई सुरुदेखि नै भएको बताए।
उनले भने, ‘सरकार ढल्छ भनेको त हामीले यो जन्मदै जसरी नन्मिएको छ नि, यो चाही अबैध ढंगले जन्मेको र अप्राकृतिक जन्मेको हुनाले यो चाही धेरै जाँदैन भन्ने कुरा सुरुदेखि नै थाहा थियो हामीलाई र जाँदैन पनि।’

यसका बाबजूद पनि आफ्नो रुचि फेरि पनि सरकारमा नभएको भन्दै आफूहरु सरकार ढाल्न सक्रिय भूमिकामा अहिले नभएको र आफ्ना लागि विपक्षीकै भूमिका ठिक भएको स्पष्टोक्ति दिए।

उनले अगाडि थप्दै भने, ‘तर, हाम्रो अहिले रुचि फेरि सरकारमा होइन। यो कुरा मैले अहिले मात्र भनेको होइन, सुरुदेखि नै यो सरकार धेरै जानेवाला सरकार चाही होइन। किन भने यो लोकतान्त्रिक मान्यता विपरित पनि छ, संविधान विपरित पनि छ र जनताको भावना विपििरत पनि छ। त्यसकारण यो जाँदैन भन्ने कुरा नीतिगत रुपमा मैले सुरुदेखि नै भनेको छु अहिले पनि देखिराख्नु भा छ तपाईहरुले कि नेपाली कांग्रेसका धेरै नेता सार्वजनिक रुपले बोलिराख्नु भएकै छ।’

सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको पार्टी एमालेभित्रको आन्तरिक विवाद र अनुशासनको कारबाहीप्रति लक्षित गर्दै अध्यक्ष दाहालले भने, ‘अब प्रधानमन्त्रीजीकै पार्टीमा पनि निक्कै ठूलोे उकुसमुकुस भएको कुरा बाहिर आइराखेकै छ। कारबाहीको प्रक्रिया पनि चलिराखेकै छ। यी सबै कुराले गर्दा हामीले सामान्यतय यो सरकार चलिराख्या त छैन, जबरजस्ती गरिएको छ।’

सरकारले हालैमात्र संघीय संसदको दुबै सदनको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष गरेको सिफारिसको सन्दर्भमा अध्यक्ष दाहालले सदनलाई छलेर अध्यादेशको माध्यमबाट मुलुक चलाउन लालयित सरकारले विपक्षीहरुको पछिल्लो दबाबका कारण मात्रै सदनको अधिवेशन बोलाएको दाबी गरे।

उनले विपक्षी दलहरुको तर्फबाट केही दिन अगाडि वक्तव्यमार्फत अविलम्ब संसद अधिवेशन बोलाउन र नभए आफूहरुले विशेष अधिवेशनको माग गर्ने भनेपछि मात्रै माघ १८ गतेका लागि संसद अधिवेशन आह्वान गरिएको बताए।

कतिपय मिडियाले विशेष अधिवेशन बोलाउने तागत विपक्षी दलहरुसँग नभएको भनि समाचार संप्रेषण गरेको तर्फ लक्षित गर्दै उनले आफूहरुसँग संसद अधिवेशन बोलाउन आवश्यक २५ प्रतिशत भन्दा धेरै ज्यादा संख्या भएको दाबी पनि गरे।

‘त्यसकारण हामीले विशेष अधिवेशन बोलाउने भनेर चाही भनेपछि मात्रै बल्ल सरकारले १८ गतेका लागि अधिवेशन बोलाएको छ,’ अध्यक्ष दाहालले आफ्नो दाबी पुष्टि गर्न थपे।

यसका अतिरिक्त दाहालले वर्तमान सरकारको गठनपूर्वको समयमा सदनमा अन्तिम पटक विश्वासको मत माग्ने क्रममा व्यक्त गरेको धारणा स्मरण गर्दै अहिलेको सरकार कुन उद्देश्यका लागि गठन भएको भन्ने कुरा त्यतिबेलै भनेको बताए।

‘मलाई लाग्छ, यो पटकको अधिवेशनमा यी सबै विषय र मैले सदनमा अन्तिम पटक विश्वासको मत माग्दै गर्दा जे कुरा जनताको अगाडि भनेको थिएँ, यो सरकार किन बदल्नु परेको थियो? यसको मुख्य कारण के हो? र यो सरकारले गर्नेवाला के छ त? भन्ने कुरा पनि मैले जे इन्डिकेट गरेको थिएँ, मलाई लाग्छ, सबै कुरा भन्नुहुन्छ भने हुबहु अक्षरस सरकारले त्यही लागू गरेको छ।’

ओली नेतृत्वको सरकारले भ्रष्टाचारलाई संरक्षण दिएको आरोप लगाउँदै भने, ‘भ्रष्टाचारीलाई बचाउने, आफ्ना मान्छेलाई बचाउने, राम्रो काम भएका संस्थाहरुमाथि आक्रमण गर्ने, राम्रो काम गर्ने कर्मचारीमाथि आक्रमण गर्ने यी सबै काम भएकै छन्। यो सबैको समिक्षा पनि मैले आउने अधिवेशनमा गर्नेवाला नै छु विपक्षीको नेताको हैसियतले मैले फेरि देश र जनताको नाममा केही अपिल गर्ने नै छु।’

 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update