नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने धारणा राखेका छन्।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको नेपालमा बैदेशिक सहयोगको अर्थ राजनीति बिषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताए।
उहाले बिभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केहि ऋण समेत अनुदानमा परिणत हुने गरेको धारण राख्दै बहुचर्चित अमेरिकी विकास सहयोग अनुदान सम्झौता एमसीसीबाट नेपाललाई फाइदा नै भएको बताए।
एमसीसीको विषयमा सदन र सडकमा केही समयअघि भएको विरोधप्रति लक्षित गर्दै सभापति देउवाले उक्त सहयोग सम्झौता गरेपछि संसदबाट पारित गराउने क्रममा चर्को विरोध भएपनि अहिले त्यसले नेपाललाई राम्रो गरेको रहेछ भनेर सबैले बुझेको दाबी गरे।
तत्कालीन सरकारको नेतृत्वमा रहँदा आफूसँग अमेरिकी राजदूतको आग्रहमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सम्झौता पत्रमा हस्ताक्षर गर्न पठाउनु अघि त्यतिबेलाका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं वर्तमान केन्द्रीय सदस्य गोविन्दराज पोखरेलसँग परामर्श गर्दा यसले फाइदा हुने सुझाव दिएपछि मन्त्रीलाई अमेरिका पठाएको बताए।
मन्त्री कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरी फर्किएपछि संसदबाट उक्त सम्झौता पारित गराउने बेलो सदनभित्र र बाहिरको अवस्था स्मरण गर्दै देउवाले भने, ‘त्यसपछि धेरै ठूलो विरोध भयो, पार्लायामेन्टमा पास गराउँदा पनि धेरै गाह्रो पनि भयो। अहिले सबैलाई थाहा भयो कि यो साँच्चीकै राम्रो रहेछ भनेर। र यसले नेपाललाई फाइदै गरेको छ, हानी गरेको छैन। यो सहयोग सम्झौता ग्रान्टमा आएको हो ऋणमा आएको होइन।’
वैदेशिक सहायताको सवालमा अनुदान ग्रान्ट वा ऋणको सन्दर्भमा ऋण कति लिने? के लिने? भन्ने सवाल नेपालको आफ्नै निर्णयमा निर्भर पर्ने बताउँदै उनले अहिलेसम्म नेपालले विश्व बैंक, एशियाली विकास बैक, आएमएफबाट ऋण लिएको बताए।
पछिल्लो समय चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण लिने कुराको घुमाउरो पाराले असहमति जनाउँदै उनले नेपाल जस्तो मुलुकले चर्को व्याजदरमा ऋण लिन नसक्ने धारणा अघि सारे।
त्यसबाहेक जापानसँग उसको सहयोग संस्था जाइकाबाट ऋण लिने गरिएपनि त्यसलाई जापान सरकारले तत्काल अनुदानमा परिणत गरिदने अथवा व्याजदर लिएपनि ज्यादै न्यून व्याजदरमा ऋण प्रवाह गरेको बताए।
यसका अतिरिक्त नेपालले कोरियाबाट ऋण लिएपनि त्यसको पनि व्याजदर नगन्य हुने गरेको भन्दै कुनै देशबाट ऋण सहयाता लिँदा डेप्ट ट्रयाप्टमा नपर्ने गरी लिने चाहना राख्नु स्वभाविक कुरा भएकोे बताए।को
सरकारले गरेका कतिपय वैदेशिक सहायता सम्झौता वा निर्णयको विषयमा सदन र सडकमा विगतदेखि नै विरोध हुने गरेको प्रसंग स्मरण गर्दै देउवाले पहिले पनि गिरिजाप्रसाद कोइरालाले निजीकरण गरेको भन्दै चर्को विरोध भएको बताए।
उनले व्यापार व्यवसाय गर्ने कार्य सरकारको नभएको भन्दै अगाडि थपे, ‘व्यापार गर्ने व्यापारीले नै हो, उद्योग खोल्ने उद्योगपतिले नै हो। सरकारले उद्योगपति बन्ने कुरा पनि छैन, व्यापारी बन्ने कुरा पनि छैन। कतिपय सवालमा कठिनाई भयो होला तर पनि हाम्रो देश भारत र चीन जस्ता ठूला मुलुकको बिचमा छ। यी देशको असरपनि हामीकहाँ पर्दछ। राम्रो नराम्रो दुबै प्रभाव हामीकहाँ पनि पर्दछ र त्यसले फाइदा, बेफाइदा जे पनि हुन सक्दछ।’
कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले परिणाम दिने आयोजनाहरुमा मात्रै नेपालले वैदेशिक सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिएका थिए।