हिमाल दैनिक
कांग्रेस संसदीय दलको बैठक आइतबार बस्दै
file photo

सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको विधेयक अधिवेशन माघ १८ गतेदेखि सुरु हुने सूचना सार्वजनिक भएपश्चात आगामी संसद अधिवेशनमा पार्टीको भूमिका र सरकारका कामकारबाहीबारे समिक्षा गर्न पार्टी संसदीय दलको बैठक बोलाइएको हो।

कांग्रेस संसदीय दलको कार्यालयले दिएको सूचना अनुसार, माघ १३ गते आइतबार अपरान्ह २ बजे संसद भवन नयाँवानेश्वरमा बस्ने कांग्रेस संसदीय दलको बैठकमा पार्टीका सबै सदस्यहरुलाई उपस्थित हुन सूचना पठाइसकिएको छ।

अघिल्लो अधिवेशनको बिचमा तत्कालीन सत्तागठबन्धन भत्काउँदै संसदको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन पुगेको कांग्रेसले आइतबार बस्ने संसदीय दलको बैठकमा सरकारको कामकारबाही र प्रभावकारीताको विषयमा पनि छलफल गर्नेछ।

यसका अतिरिक्त सरकारले आगामी अधिवेशनमा पेश गर्ने विधेयकहरुमाथि पार्टीको साझा धारणा तय गरी सोही अनुसार सांसद सदस्यहरुको भूमिकाबारे पनि छलफल हुनेछ।

सामान्यतयः संसद अधिवेशन बस्नु अघिल्लो अथवा सोही दिन हतार हतारमा संसदीय दलको बैठक बोलाउँदै आएको कांग्रेसले यसपटक भने अधिवेशन सुरु हुनु पाँच दिन अगाडि नै दलको बैठक बोलाएको हो।

सरकार गठनको समयमा एमाले र कांग्रेसले गरेको सात बुँदे सहमतिको कार्यान्वयन तथा सरकारलाई जनअपेक्षा अनुसार काम गर्न भनिएपनि सरकारको कामकारबाहीमा कतिपय कांग्रेस नेता तथा सांसदहरुले नै प्रश्न उठाइरहेको तथा सरकारको स्थायित्वबारे प्रश्न उठाइरहेका बेला पर्सी हुने संसदीय दलको बैठकले केही न केही निर्देशनसहितको निर्णय लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update