हिमाल दैनिक
संसद अधिवेशनको पूर्वतयारीमा सभामुख: सत्तापक्षका प्रमुख सचेतकसँग परामर्श

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने सन्दर्भमा सत्तारुढ दलका प्रमुख सचेतकहरुसंग छलफल गरेका छन्।

आइतबार सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनलाई प्रभावकारी ढंगले अघि बढाउने वातावरण बनाउन र विधेयकहरुलाई छिटो अघि बढाई बिजनेश दिन सत्तारुढ दलका प्रमुख सचेतकहरुलाई आग्रह गरेका थिए।

समितिमा अल्झिएर रहेका बिधेयक, अघिल्लो संसददेखि थाँती रहेका केहि बिषय लगाएतमा सभामुखले चासो व्यक्त गरेको कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए।

उनले सदनलाई सहज ढंगले अघि बढाउन आफुहरुको सकारात्मक पहल हुने प्रतिवद्धता जनाएको बताए।

यसैगरी सरकारले अघि सारेका विधेयक लगायत कपितय महत्वपूर्ण विषयमा सभामुख घिमिरेले राखेका जिज्ञासाको बारेमा आफूहरुले पार्टी नेतृत्वसँगै दलभित्र परामर्श गरी जानकारी गराउने आश्वासन दिएको बताए।

यसका अतिरिक्त सभामुखले आज सत्तारुढ दलका दुई सचेतकसँग अनौपचारिक छलफल गरेपनि सभामुखले माघ १५ गते संसदमा रहेका सबै दलका सचेतक लगायत कार्यव्यवस्था परामर्श समितिको बैठकबाट अधिवेशनको तयारी र त्यसको प्रभावकारीताबारे छलफल गर्ने जानकारी दिए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसदको प्रभावकारीताका साथै महत्वपूर्ण विधेयक अघि बढाउन सत्तारुढ दलले सहयोग गर्नुपर्नेमा सभामुखको जोड रहेको जानकारी दिए।

माघ १८ गते बस्ने बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको उनले बताए।

उनले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयकहरुलाई पनि अघि बढाउन पहलकदमी गर्न सभामुखले आग्रह गरेको जानकारी दिए।

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक अघि सभामुखले सत्ता र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग सोमबार सामूहिक रुपमा छलफल गर्ने तय भएको छ। त्यस्तै मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइएको छ। संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन माघ १८ गते १ बजेका लागि आह्वान गरिएको छ।

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update