हिमाल दैनिक
गगन भन्छन्ः अरुले जेसुकै गरेपनि कांग्रेसले ०८४ को चुनावको चर्चा गरेर गनगन गर्न मिल्दैन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरुले जेसुकै भनेर जनतामा गएपनि कांग्रेसले ०८४ को चुनावको चर्चा गर्ने नाममा गनगन गर्न नपाउने दाबी गरेका छन्।

भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले वर्तमान सत्तासाझेदार दल कांग्रेस र एमालेले केन्द्रदेखि प्रदेश हुँदै वडा तहसम्मको नेतृत्व गरिरहेको अवस्थामा जनतामाझ ८४ को चुनावबारे चर्चा गर्ने भन्दा त्यसअघिको तीन वर्षको समयमा जनताले अनुभूति गर्न सक्नेगरी काम गर्नु पर्ने बताए।

‘कांग्रेस, एमालेले सरकार चलाएको छ भने कांग्रेस, एमालेले जनतालाई के भन्न सक्नु पर्यो भने ८४ को चुनावको बारेमा हामी चर्चा गर्दैनौँ। हामी कुराकानी गर्दैैनौँ। ८४ को चुनावमा जानेबेलासम्म बीपीले १८ महिनामा गरेको भन्दा धेरै, गिरिजाप्रसादले (तीनमहिना) तीन वर्षमा गरेको भन्दा झन धेरै वा मनमोहनले ९ महिनामा गरेको भन्दा धेरै र राम्रा काम गरेर आउँछौँ भनेर भन्न सक्ने अवस्था भयो भने पो बल्ल देश ठिक ठाउँमा जाला,’ महामन्त्री थापाले भने।

मुलुक संचालनको जिम्मा लिएका दल र प्रतिनिधिहरुले काम नगरे के गर्ने र कसले गर्ने भन्दै उनले भने, ‘जिम्मा लिएकोले पनि काम नगर्ने हो भने काम चाही कसले गर्ने हो त? कांग्रेसले त अहिले त केही पनि भन्न पाउँदैन भन्ने कुरा मेरो छ। संघको सरकारमा कांग्रेस, प्रदेशको सरकारमा कांग्रेस, तीन सय तीसवटा पाििलकाको प्रमुखमा कांग्रेस, देशभरीका सबै वडाअध्यक्ष आफू हुने (हामी हुने)। जनताले वडामा पनि भोट हालिदिएको छ, नगरपालिमा पनि भोट हालिदिएको छ, सांसद पनि बनाइदिएको छ, मन्त्री बनाइदिएको छ प्रधानमन्त्री बनाइदिएको छ। सरकार बनाइदिएको छ, अब अरुले गरेपनि हामीले गनगन गर्न पाउँदैनौँ।’

कतिपय दल र दलका नेताहरुले मिशन ८४ को नारा दिइरहेको बेला नेता थापाले ८४ को चुनाव आउन तीन वर्ष बाँकी रहेको भन्दै तीन वर्षपछिको चुनाव भन्न्दा पनि तीन वर्षको समयमा काम गरेर नेपाली जनताको आयबृद्धि गर्नु पर्ने बताए।

‘बीपी कोइरालाले कति समय सरकार चलाउनु भयो? सबै भन्दा बढी कांग्रेसले गौरव गर्छ कहिले भन्दा १८ महिना बीपीले चलाएको सरकार, जम्मा १८ महिना। नेपालमा सबैभन्दा ठूलो आर्थिक क्षेत्रमा परिवर्तन भएको भनेको गिरिजाप्रसादले नेतृत्व गरेको ०४८ देखि ५१ साल जम्मा तीन वर्ष। तीन वर्षमा कायाकल्प गरियो। १८ महिनामा कायाकल्प गरियो, नेकपा एमालेले पनि सबैभन्दा बढी गौरव कहिले गर्छ? मनमोहन अधिकारीको ९ महिना। हामी अहिले कति समय पाएका छौँ? तीन वर्ष,’ भन्दै थापाले यो समयमा मुलुकमा विकास, समृद्धी वा सम्मुन्नी जे भनेपनि त्यो हाँसिल गर्न परेको बताए।

पछिल्लो सत्ता गठबन्धनले संविधान संशोधनको विषय उठाएर चलेको चर्चाप्रति लक्षित गर्दै महामन्त्री थापाले नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको विविधतालाई स्वीकार गरेको बताउँदै यो संविधानमा केही कुराहरु तलमाथि, फेरबदल गर्न सकिएपनि यसका आधारभूत कुराहरुलाई चलाउन नहुने बताए।

कतिपय शक्ति र व्यक्तिले व्यवस्थाकै विकल्पबारे चर्चा लगाइरहेको बेला थापाले त्यसको प्रतिवाद गर्दै भने, ‘फेरि हामी अर्को विकल्प, अर्को व्यवस्था काहीँ कसैले हामी सोचिरहेका छौँ भने यो काम लागेन, यो व्यवस्था काम लागने। यो संघीयता काम लागेन, अर्को विकल्प खोज्नु पर्छ भन्यो भने, मान्नु होला मेरो कुरा अर्कोे दश वर्ष फेरि खेर जान्छ। फेरि खेर जान्छ। यो भारी व्यवस्थालाई बोकाउने काम नगरौँ।’
 
उनले थप्दै भने, ‘ठिक छ अहिले हामीसँग व्यवस्था छ। एउटा संविधान छ, व्यवस्था छ, यहाँसम्म आयौँ। पाँच पाँच वर्षमा चुनाव हुन्छ, चुनावमा पार्टीहरु आउँछन्, जित्छन्, हार्छन। एउटा पार्टी हारेर केही पनि फरक पर्दैन। हाम्रो पार्टीले राम्रो गरेन भने अर्को पटक चुनाव हार्छौँ हामी, केही हुँदैन। एउटा नेता मन्त्री प्रधानमन्त्री हुने कुरा पनि ठूलो कुरा होइन।, त्यो पनि जान्छ। एउटा महत्वपूर्ण कुरा हो, नेतृत्व बदल्नु पर्ने, म त्यो कुरामा एकदम मान्दछु। किन कि संसारभरीको डेमोक्रेसी भन्दा हामीकहाँ एउटा समस्या के भइदियो भने, प्रायः सबै डेमोक्रेसीमा नेतृत्वको एउटा पंक्तिले आन्दोलन गर्छ, आन्दोलन सफल बनाउँछ। केही समय व्यवस्थापन गर्छ अनि छोडिदिन्छ। हामीकहाँ छोडेन। हामीकहाँ समातेर बस्यो।’

उनले वर्तमान प्रधानमन्त्रीदेखि विगतका वा भावी प्रधानमन्त्री भन्दा आफू र आफ्ना पुस्ताको नेताहरुले अवसर पाएमा त्यसले राम्रो ढंगले चलाएर देखाउने दाबी समेत गरे।

उनले भने, ‘म अहिलेको प्रधानमन्त्री भन्दा (मेरो व्यक्तिगत कुरा गरेको होेइन, म भनेको दुर्लभ थापा पनि हो। मदनकृष्ण श्रेष्ठ पनि हो, अर्थात हामीहरु) म अहिलेको प्रधानमन्त्री वा अस्तिको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्रीहरु भन्दा हामी राम्रो काम गरेर चलाउन सक्छौँ भन्ने कुरा म अहिले पनि विश्वास गर्छु। आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीहरुमध्ये कसैलाई पनि प्रधानमन्त्री बनाउने हो भने, अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ चलाउँछौँ। यत्ति कुरा दाबाका साथ भन्छु। त्यही चलाउँछौँ भन्ने विश्वासको साथ बन्ने प्रयास पनि गरेको हो। जिम्मा लिन्छु भनेर गएको पनि हो। त्यी प्रयासहरुबाट आएका परिणामहरुलाई पनि स्वीकार्नु पर्छ।’

 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update