हिमाल दैनिक
दलका प्रतिनिधिसँग सभामुखकाे छलफलः माघ ३० गतेसम्मको संसदीय क्यालेन्डर तयार

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगामी माघ १८ गतेबाट सुरु हुने संघीय संसदको हिउँदे अधिवेशनको क्यालेन्डरका बिषयमा बिभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्।

संघीय संसद् सचिवालयले तयार गरेको क्यालेन्डरलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सन्दर्भमा सभामुख घिमिरेले बिभिन्न दलसंग छलफल गरेका हुन्।

सचिवालयले माघ १८ गतदेखि ३० गतेसम्मको क्यालेन्डर तयार पारेको छ। जसमा माघ १८ गते बस्ने पहिलो बैठकमा सरकारले अघिल्लो अधिवेशन र अब सुरु हुने अधिवेशनको बिचमा जारी गरेका अध्यादेशहरु पेश गर्ने र प्रधानमन्त्री लगाएत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूचि तय भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए।

संविधानको धारा ११४ बमोजिम सरकारले जारी गरेका अध्यादेशहरु संसद अधिवेशन सुरु भएलत्तै सदनसमक्ष पेश गर्नु पर्ने संवैधानिक प्रावधानसँगै संसदीय प्रचलन र अभ्यास छ। जसलाई सरकारले संसद चलेको दुई महिनाभित्र प्रतिस्थापन विधेयकमार्फत संशोधनको प्रक्रियामा अघि बढाउनु पर्दछ।

तर, यसअघि सरकारले जारी गरेका अध्यादेशहरु तत्कालीन विपक्षी दलको अवरोधका कारण सदन सुरु भएको पहिलो दिनमै पेश हुन नसकेको स्थितिमा अहिले पनि विपक्षमा रहेका दलहरुको सत्तापक्षसँग बढ्दै गएको असमझदारीका कारण विधेयक सहजै पेश हुने वा नहुने निधो छैन।

त्यस्तै यस अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा सफल बनाउन सभामुखले आग्रह गरेको बताए।

घिमिरेले प्रतिपक्षीले अध्यादेशका बिषयमा उठाएका बिषयहरुलाई सदनमा नै छलफल गर्ने तयारी भएको उल्लेख गरे।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले १८ गते सुरु भइ २२, २३ र २४ गते संसद बैठक बस्ने जानकारी दिए।
माघ १८ गते बस्ने बैठकमा अध्यादेश पेश हुने र २२ गते निर्णयार्थ प्रस्तुत हुने जानकारी उनले दिए।

वर्तौलाका अनुसार, माघ २५, २६ र २७ गते संसदीय समितिको बैठक बस्ने र २८, २९ र ३० गते गते संसद बैठक बस्ने गरी संसदको दैनिक क्यालेन्डर तयारी भएको जानकराी दिए।

संसदको सुरुका दिन शीर्ष नेताहरुले सम्बोधन गर्दा विश्वासको वातावरण निर्माण हुने बर्तौलाले विश्वास व्यक्त गरे।

माघ १८ संसद बैठक बस्नुअघि कार्यसूची तय गर्न माघ १५ गते मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update