हिमाल दैनिक
कार्यव्यवस्था परामर्श समितिद्वारा संसदको क्यालेन्डर पारित

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले प्रतिनिधिसभाको माघ महिनाको क्यालेन्डर पारित गरेको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले संसद सचिवालयले तयार गरेको क्यालेन्डर हेरफेर र परिमार्जनसहित पारित गरेको हो।

माघ १८ गते संसदको पहिलो बैठकमा शीर्ष नेताहरु सम्बोधन गर्ने र अध्यादेश प्रस्तुत हुने तथा माघ २४ गतेको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

त्यसको केही हप्तामै प्रतिस्थापन विधेयक सरकारको तर्फबाट पेस हुने उनको भनाइ छ। उनले संसदको आगामी अधिवशेनमा बढि भन्दा बढि विधेयकहरुलाई प्रस्तुत गर्ने र सदनमा कोरम पुर्याउने कुरामा सत्तापक्ष गम्भीर रहेको दाबी गरे।

त्यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सदनलाई सहज रुपमा अघि बढाउनका लागि कार्यतालिका बनाइएको जानकारी दिए।

पाण्डेले बैठकमा आफुहरुले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयककै अध्यादेश ल्याएको बिषयमा कुरा उठाएको जानकारी पनि दिए।

उनले कांग्रेसले अब देश अध्यादेशबाटै चलाउने भनाइ बैठकमा राखेपछि आफुहरुले प्रतिवाद गरेको बताए।

त्यस्तै कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले देश अध्यादेशबाटै चलाउने कुरा आफुहरुले नराखेको बरु समयमा नै कानून बन्न नसके अध्यादेश नै बिकल्प हुने बताएको स्पष्ट पारे।

कानून बनाउन भएको ढिलाईले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरेको बिषयलाई माओवादी सचेतकले अतिरञ्जीत गर्ने काम गरेको उनको दाबी छ।

उनले कानून बनाउने क्रममा कार्यतालिका बनाएर अघि बढ्नुपर्ने कांग्रेसको धारणा रहेको बताए।

अहिले सरकारले ल्याएको अध्यादेश राजनीतिक प्रकृतिको नरहेको देशको आवश्यकताका आधारमा अर्थतन्त्र र सुशासनका लागि अध्यादेश ल्याएको उनले बताए। घिमिरेले अध्यादेशको विरोध गर्नुपर्ने कुनै कारण नरहेको उल्लेख गरे।

 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update