नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन्।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरता सुनिश्चिततामा सहयोग पुग्ने समेत बताए।
स्टार्टअप उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भन्दै देउवाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने उल्लेख गरे।
देउवाले भने, ‘पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ। युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन्। यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ। व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ। थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ।’
सभापति देउवाले कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्ने समेत बताए।
उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको धारणा राखे।
सभापति देउवाले उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न सरकारले आवश्यक कानून ल्याएको र कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउने बताइएको छ।