प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ‘स्टन्टबाजी’बाट देश चल्न नसक्ने दाबी गरेका छन्।
नेपाल बार एसोसिएसन र युवा कानुन व्यावसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यावसायी सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकतामा जोड दिँदै कुनै ‘स्टन्टबाजी’बाट देश नचल्ने बताएका हुन्।
उनले भने, ‘हरेक क्षेत्रमा रिफर्म आवश्यक छ आज। हरेकमा प्रतिबद्धता आवश्यक छ आज। यो राजनीतिक क्षेत्रमा त्यस्तै छ। प्रशासनिक क्षेत्रमा त्यस्तै छ। न्यायिक क्षेत्रमा त्यस्तै छ। अथवा अरु क्षेत्रहरुः व्यवसायिक क्षेत्रहरु अथवा अन्य उद्यमशीलताका क्षेत्रहरु, सबैतिर रिफर्म आवश्यक छ। तर, सबभन्दा पहिला, रिफर्म जसले सबैकुरालाई संचालन गर्दछ, त्यहाबाट सुरु हुनु पर्दछ, अथवा पोलिटिकल क्षेत्रबाट रिफर्म सुरु हुनु पर्दछ। पोलिटिकल लिडरहरुबाट रिफर्म सुरु हुनु पर्दछ। स्टन्टबाजीबाट देश चल्दैन।’
प्रधानमन्त्री ओलीले यथार्थमा देश र जनताप्रति इमानदारिता र बफादारिताका साथ राजनीतिक नेतृत्वसँगै सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोल र विपन्नबाट मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले राजनीतिक दलहरुको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्तिसुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले सांसदहरुले कानुन बनाउँदा सार्वभौमसत्तासम्पन्न जनताका तर्फबाट कानुन बनाउँदैछु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुछ हुँ भन्ने भ्रम पाल्न नहुने धारणा पनि राखे।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको उनले बताए।
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरु कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतम्भन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए।
उनले सरकार कानुन व्यवसाय र युवाहरुको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकार सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए।