हिमाल दैनिक
पाथीभरामा केबलकार निर्माण कार्यलाई निर्वाध अघि बढ्न दिन सांसद भट्टराईको माग

नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारका सम्बन्धमा देखिएका विवाद समाधान गर्दै केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुब पार्क तथा संग्राहालय निर्माण गर्न माग गरे।

उद्योग व्यवसायी चन्द्र ढकालको लगानीमा पाथीभरा मन्दीरमा आवत÷जावत गर्न केबलकार निर्माण परियोजना अघि बढाउने क्रममा स्थानीय बासिन्दा र निर्माण कम्पनीबिचको विवाद उत्कर्षमा पुगिरहेकै बेला उक्त जिल्लाका निर्वाचित जनप्रतिनिधि समेत रहेका भट्टराईले स्थानीय जनताको चाहनाविपरित व्यवसायिक कम्पनीको पक्षमा वकालत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।

उक्त बिषयमा बारेमा १९ बुँदे धारणा सार्वजनिक गर्दै नेता भट्टराईले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रक्रिया पुरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रालिले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम शुरु गरेको दाबी गरे।

लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने भन्दै उनले समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्नेमा जोड दिए।

उनले आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि माग गरे।

सांसद भट्टराईले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगले अघि बढाउनुपर्ने धारणा राखे।

केबलकार पक्षले ताप्लेजुबका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा समेत उनले गरे।

केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने र यसबाट समग्रतामा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने उनले बताए।

 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update