हिमाल दैनिक
अध्यादेशलाई अस्वीकार गर्ने विपक्षी दलहरुको निर्णय, परिआए सडक संघर्षमा जाने धम्की

संघीय संसदमा रहेका बिपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बिपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

केही समयअघि सरकारले विभिन्न ऐनमा संशोधनको नाममा जारी गरेका ६ वटा अध्यादेशबरे विपक्षी दलले सदन बोलाउने बेलामा अध्यादेश ल्याउनु प्रक्रियागत हिसावले समेत गलत भएको ठहर गरेको पाण्डेले बताए।

उनले भोलीदेखि सुरु हुने संघीय संसद अधिवेशनमा व्यवस्थित रुपमा जनताका मुद्दा उठाउने निर्णय गरेको बताए।

विशेषगरी अध्यादेशको सवालमा प्रक्रियाको हिसाबले मात्र होइन, संसदमा विचाराधिन अवस्थामा रहेको विधेयकलाई समितिबाट पारित गर्ने भन्दा पनि विधि र प्रक्रिया विपरित अध्यादेश ल्याएको भन्दै यसलाई सर्वसम्मत रुपमा अस्विकार गर्ने बताए।

त्यस्तै सुशासन, जनजिविकाका बिषयमा पनि सदनमा गम्भीर ढंगले उठान गर्ने निर्णय भएको उनले बताए।

उनले सदनमा राजनीतिक दलहरुका आफ्ना आफ्नै विषयवस्तु भएपनि राष्ट्रिय जनसरोकारका विषयमा सहमति हुनसक्ने मुद्दामा एकताबद्ध भएर उठाउने र आवश्यक परे सरकारको जनविरोधी कदमविरुद्ध सडक संघर्षमा समेत जानसक्ने धम्की दिए।

बैठकमा नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी, जनमोर्चा लगाएत दलका नेताहरुको सहभागीता रहेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update