संघीय संसदका दुबै सदनको अधिवेशन आज अपरान्ह १ बजेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दैछ।
सरकारले केही ढिलागरी संसदको विधेयक अधिवेशन आह्वान गर्न गरेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज अपरान्ह १ बजेदेखि सुरु हुने सूचना सार्वजनिक गरेपछि संसद अधिवेशन सुरु हुन लागेको हो।
विशेषगरी प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बैठक औपचारिक रुपमा सुरु गरेलगत्तै राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर संसदलाई जानकारी गराउने कार्यसूचि तयार भएको छ।
संसद सचिवालय र संसदीय कार्यव्यवस्था परामर्श समितिले तयार पारेको कार्यतालिका बमोजिम आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै राजनीतिक दलका शीर्ष नेताहरुले संसदको पहिलो बैठकमा सम्बोधन गर्ने तयारी पनि गरिएको छ।
यसका अतिरिक्त सरकारले हालै मात्र जारी गरेका केही कानूनहरु संशोधनका लागि जारी भएका अध्यादेशहरु संविधान र संसदीय अभ्यास बमोजिम सदनसमक्ष पेश गर्ने पनि रहेको छ।
सरकारले संसदको प्राथमिकता भन्दा विधि र प्रक्रिया विपरित अध्यादेश जारी गरेको भन्दै विपक्षी दलहरुले विरोध जनाइरहेका बेला आजको बैठकपूर्व सत्ता र प्रतिपक्षी दलबीच सहमति कायम हुन नसकेको खण्डमा उक्त अध्यादेशहरु पेश हुने वातावरण सहज हुने हो वा विपक्षी दलको अवरोध सृजना हुने हो यसै भन्न सकिन्न।
यसका अतिरिक्त आजको बैठकमा पूर्व सभामुख दमननाथ ढुंगाना र रामजीप्रसाद शर्माको निधनप्रति शोध प्रस्ताव पारित गरी आजको बैठक स्थगित गर्ने कार्यतालिका तय भएको छ।