सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २४ गतेसम्मका लागि स्थगित भएको छ।
संघीय संसदका दुबै सदनको आजदेखि सुरु हुन लागको अधिवेशनपूर्व पार्टीले माघ १३ गतेदेखि सुरु गरेको संसदीय दलको बैठकमा सरकार, संसद र पार्टीको भूमिकाका विषयमा साझा धारणा तय गर्नेबारे छलफल जारी भएपनि सरकारका मन्त्री तथा पार्टी पदाधिकारीहरुले आफ्ना धारणासहित अन्तिम निर्णय तय नभएको कारण दलको बैठक माघ २४ गतेका लागि सारिएको हो।
संसद भवन नयाँवानेश्वरस्थित ल्होत्से हलमा आज बिहानदेखि सुरु भएको दलको बैठकमा सांसदहरु नारायण खड्का, ईश्वरी न्यौपाने, सीता गुरुङ, उदयशम्शेर राणा, देवप्रसाद तिमिल्सिना लगायत करिब एक दर्जन सांसदहरुले आफ्ना धारणा राखेको एक सदस्यले बताए।
उनीहरुमध्ये अधिकांश सदस्यले देश र जनताको हितमा अन्तिम विकल्पकै जस्तो गरी दुई प्रमुख दल मिलेर बनेको सरकारको प्रभावकारीता र त्यसले जनतालाई दिनुपर्ने सेवासुविधामा देखिएको कमिकमजोरीका बारेमा पनि गम्भीर प्रश्न उठाएका थिए।
उनीहरुले जनताको प्रतिनिधिका रुपमा रहेका सांसदहरुले तीन तहका सरकारको माध्यमबाट जनतामाझ कसरी एकाकार गर्न सकिन्छ र आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाएर जनतामा नयाँ आशा र भरोसाको सृजना गर्न सकिन्छ भन्नेबारे दल र दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु गम्भीर हुनु पर्नेमा जोड दिएका थिए।
पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको भूमिका पनि जनता र पार्टीप्रति जिम्मेवारी र जवाफदेहिताबोधका साथ नदेखिँदा जनतामा थप निराशाको स्थिति उत्पनन हुन सक्ने भन्दै मन्त्रीहरु पनि आफू र आफ्नो क्षेत्र केन्द्रित हुने स्थिति बन्न नहुने सुझाव दिएका थिए।
संसदमा करिब करिब अन्तिम विकल्पको रुपमा आएको सरकारबाट पनि जनताले विकास, समृद्धी र सुशासनको प्रत्याभूति नपाउने हो भने कसबाट आशा र अपेक्षा गर्ने भन्दै कतिपय सदस्यहरुले सरकार र पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
यसैगरी संसदको नियमावलीमा महिला समन्वय समिति बनाउने भनि लेखिएको भएपनि अहिलेसम्म संसदमा त्यो गठन हुन नसकेको मात्र होइन, सरकारले हालै गठन गरेका भूमि व्यवस्था सम्बन्धी आयोग गठन गर्दा पार्टीको भागमा परेको संख्यामा एक जना पनि महिला नेतृत्वमा अटाउन नसकेको भन्दा असन्तुष्टि व्यक्त गरेको एक सदस्यले बताए।
यसैबिच आजको बैठकमा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफूले केही दिनअघिको कार्यव्यवस्था समितिमा व्यक्त गरेको धारणाको विषयमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले अतिरञ्जित अभिव्यक्ति दिएको भन्दै आफ्नो भनाईबारे स्पष्टिकरण दिएका थिए।
उनले सदनमा मात्र नभएर विषयगत समितिमा पनि सदस्यहरुको उपस्थिति नियमित हुन नसक्दा विधेयकमाथिको छलफल प्रभावित भइरहेको अवस्थामा संसदले विधेयक पारित गर्न ध्यान नदिए सरकारले बाध्यताबस अध्यादेश नल्याई नहुने स्थिति आउन सक्ने यथार्थबारे आफूले बोल्दा कहीँ कतै कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको अभिव्यक्ति दिएको एक नेताले बताए।
यसका अतिरिक्त आजको बैठकमा केही मन्त्रीहरुले विगत ६ महिनाको अवधिमा आफूले गरेका कामकारबाहीको प्रगतिविवरण बुझाएका छन्।
सांसदहरुले उठाएका प्रश्नको विषयमा पार्टी पदाधिकारी तथा मन्त्रीहरुले जवाफ दिने कार्य बाँकी रहेपछि सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले दलको बैठक २४ गते पुनः बस्नेगरी स्थगित गराएका छन्।