संघीय संसद अन्तरगत प्रतिनिधि सभाको आजदेखि सुरु भएको अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा अवरोध श्रृजना गरेको छ।
सभामुख देवराज घिमिरेले अपरान्ह १ बजेपछि केही मिनेट ढिलागरी सुरु गरेको बैठकमा राष्ट्रपति कार्यालयबाट सदनको अधिवेशन आह्वान भएको पत्र बाचन गर्दै आफ्नो तर्फबाट संसदको अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।
त्यसको लगत्तै शहिदहरुप्रति सम्मानका लागि एक मिनेट मौन धारण गर्दै सदनको पूर्वनिर्धारित कार्यसूचिमा प्रवेश गर्ने क्रममा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचनको सुरुवात गरे।
तर, आफ्ना पार्टी सभापति एवं निलम्बित सांसद रवि लामिछानेको विषयलाई लिएर असन्तुष्ट बनेको रास्वपाका सांसदहरुले उभिएर सदनको कारबाही अवरुद्ध पारे।
त्यसपछि सभामुख घिमिरेले आजको बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दलीय आधारमा पार्टी नेताहरुले आफ्ना धारणा राख्ने भन्दै बसेर सदनको कारबाही सूचारु गर्न मद्दतका लागि पटक पटक आग्रह गरे।
यसका बाबजूद पनि रास्वपाका सदस्यहरुले उभिएर विरोध जनाउँदै पहिले आफूहरुलाई बोल्न समय दिन माग गरे।
तर, सभामुख घिमिरेले आजको बैठकमा बसेर सहयोग गर्न नियमावलीको प्रावधान बमोजिम बस्न निर्देशन दिए।
सभामुखको निर्देशनलाई समेत वेवास्ता गर्दै विरोध जनाएपछि सभामुखले आफ्नो आदेश पालना नभएको खण्डमा संसदको नियमावली बमोजिम आफू सदनको कारबाही अघि बढाउने जानकारी पटक पटक दिए।
यसका बाबजूद रास्वपाका सदस्यहरुले सभामुखसँग सवालजवाफ र प्रतिवाद गरिरहेपछि केही कुरा भएपछि बोल्दा समय मिलाउने भन्दै सदनको कारबाही अघि बढाउन मद्दत गर्न दर्जनौपटक आग्रह र अनुरोध गरिरहे।