नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थीरताका कारण मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले नै वर्तमान सरकार गठन गर्नुपरेको स्पष्टिकरण दिएका छन्।
शुक्रबार सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक तथा आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको सरकार गठन भएको बताएका हुन्।
उनले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता व्यक्त गर्दै एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरे।
सभापति देउवाले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुने उल्लेख गर्दै यसका बाबजूद सुरुको अवधिमा धेरै राम्रा काम गरेको र भविष्यमा असल परिणाम देखिनेगरि काम गर्ने दाबी गरे।
उनले सरकारले ल्याएको अध्यादेशले मुलुकको आर्थिक प्रणालीका साथै सुशासनमा सुधार हुने विश्वास व्यक्त गरे।
देउवाले राजनीतिक दलहरुका बीच सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने भन्दै यसबारेमा छलफल प्रारम्भ गरिसकेको उल्लेख गरे।
लोकतन्त्रको विकल्प खोज्न नहुने धारणा दोहोर्याउँदै यसलाई थप सुदृढ बनाउदै नागरिकको जीवनसंग जोड्न सक्नुुपर्ने उनले बताए।
उनले लोकतन्त्रले प्रत्याभूत गर्ने स्वतन्त्रतालाई अराजकता गर्न पाउने सुविधाका रुपमा बुझ्न नहुने धारणा राखे।
देउवाले संसदमा विचाराधीन सवै विधेयक संसदको चालू अधिवेशनबाट पारित हुने विश्वास पनि व्यक्त गरे।