हिमाल दैनिक
साहाराको बचत ठगीगरी बचतकर्तालाई वेसाहारा बनाएको आरोप लागेका रवि चितवन जिल्ला अदालतमा हाजिर

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरेको आरोपमा अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन्।

चितवन जिल्ला प्रहरीको अनुसन्धानपछि जिल्ला सकरारी वकिलको कार्यालयले मंगलबार लामिछानेसहित ३२ जनाविरुद्ध सहकारीको बचत हिनामिना गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेपछि बुधबार बिहानै कार्यालय खुलेलगत्तै अदालतमा हाजिर भएका हुन्।

साहारा चितवनको १० करोड ८० लाख १८ हजार रुपैयाँ बचत गैरकानूनी रुपमा तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा.लि.का संचालक गितेन्द्रबाबु (जिबी) राई, प्रवन्ध निर्देशक रवि लामिछानेसहितको समूहले आफ्नो टेलिभिजन कम्पनीमा लगानी गरी बचतकर्ताको रकम हिनामिना र ठगी गरेको अभियोग पत्रमा उल्लेख छ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने रविसहित २० जानविरुद्ध ठगीमामात्रै मुद्दा चलाइएको छ।

यसरी आफूविरुद्ध अदालतमा मुद्दा दायर भएपछि लामिछाने आफ्ना सहयोगीसहित बुधबार बिहान अदालतमा वयानका लागि पुगेपछि अदालतले उनीविरुद्धको रिट निवेदनबारे जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा तोकेको छ।

न्यायाधीश ढकालको इजलासमा आजै रविले आफूविरुद्धको अभियोगका बारेमा वयान दिने क्रम सुरु भइसकेको अदालत स्रोतले जनाएको छ।

वयान लिने प्रक्रिया सकिएलगत्तै उनीविरुद्ध थुनछेकको बहस सुरु हुने छ। जसको आधारमा न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने कि धरौटी रकम लिएर छाड्ने अथवा थुनामै राखेर मुद्दा अघि बढाउने भन्ने आदेश जारी गर्नेछन्।

यसअघि गत कार्तिक २ मा कास्की जिल्ला प्रहरीले पक्राउ गरेका रविलाई पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा दायर गरेको मुद्दामा कास्की जिल्ला अदालतले पुस २५ गते ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो। त्यसको लगत्तै सोही प्रकृतिको मुद्दामा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत ठगी लगायतको आरोपमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसका अतिरिक्त बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी लगायतको मुद्दामा भने रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी तीनवटा अदालतमा कुल २ करोड २५ लाख धरौटी बुझाएर थुनामुक्त भएका छन्। यसबाहेक लामिछानेविरुद्ध पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम हिनामिनाबारे पनि अनुसन्धान जारी रहेको छ।

 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update