हिमाल दैनिक
साहाराको बचत ठगी प्रकरणः रवि लामिछानेविरुद्ध थुनछेकको बहस दोस्रो दिन पनि जारी

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलन गरीी ठगेको आरोपमा न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानको आधारमा मंगलबार दर्ता गरेको मुद्दाबारे बुधबार वयानका लागि जिल्ला अदालत चितवनमा पुगेका लामिछानेको हिजै वयानपछि थुनछेक बहस सुरु भएको थियो।

जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा वयान लिनेक्रम सकिएलगत्तै जिल्ला सरकारी वकिलको कार्यालय चितवनका न्यायाधीक्ता रवि न्यौपाने, सहायक महान्यायाधीवक्ता अमृत सुवेदी र बुद्धबहादुर थापाले बुधबार लामिछानेलाई थुनामै राखेर मुद्द अघि बढाउन माग गर्दै लामिछानेको विपक्षमा बहस गरे।

बहस प्रक्रिया नसकिएपछि न्यायिक हिरासतमा पठाइएको लामिछानेलाई बिहिबार बिहान सरकारी कार्यालय खुल्नासाथ अदालतमा पुर्याइएको छ। जहाँ सरकारी वकिलको कार्यालयको तर्फबाट बहसलाई थप प्रभावकारी बनाउन भन्दै महान्यायाधीवक्ताको कार्यालयले पर्सा, बारा र धादिङबाट पनि तीन जना न्यायाधीवक्तालाई अदालतमा पठाइएको समाचार आएको छ।

सरकारी वकिलको कार्यालयको तर्फबाट बहस सकिएपछि लगत्तै लामिछानेविरुद्ध सहकारी पीडितको पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारसिहित ६ जनाले बहस गर्ने छन्।

त्यसपछि मात्रै लामिछानेको प्रतिरक्षाका लागि खटिएका कानून व्यवसायीहरुले उनलाई हिरासत मुक्त गरी अभियोजन प्रक्रिया अघि बढाउन माग गर्ने छन्।

यसरी बहसका लागि पेश गरिएको कानून व्यवसायीहरुको सूचि हेर्दा सम्भवत् आज पनि लामिछानेको थुनछेक बहस र सरकारी वकिलको प्रतिउत्तर बहस नसकिँदा लामिछानेको न्यायिक हिरासतको बसाई लम्बिन सक्ने छ।

चितवन जिल्ला प्रहरीको अनुसन्धानपछि जिल्ला सकरारी वकिलको कार्यालयले मंगलबार लामिछानेसहित ३२ जनाविरुद्ध सहकारीको बचत हिनामिना गरेको आरोप लगाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेपछि बुधबार बिहानै कार्यालय खुलेलगत्तै अदालतमा हाजिर भएका थिए।

साहारा चितवनको १० करोड ८० लाख १८ हजार रुपैयाँ बचत गैरकानूनी रुपमा तत्कालीन गोरखा मिडिया नेटवर्क प्रा।लि।का संचालक गितेन्द्रबाबु (जिबी) राई, प्रवन्ध निर्देशक रवि लामिछानेसहितको समूहले आफ्नो टेलिभिजन कम्पनीमा लगानी गरी बचतकर्ताको रकम हिनामिना र ठगी गरेको अभियोग पत्रमा उल्लेख छ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो।

जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने रविसहित २० जानविरुद्ध ठगीमामात्रै मुद्दा चलाइएको छ।

यसअघि गत कार्तिक २ मा कास्की जिल्ला प्रहरीले पक्राउ गरेका रविलाई पोखराको सूर्यदर्शन सहकारीको बचत ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको आरोपमा दायर गरेको मुद्दामा कास्की जिल्ला अदालतले पुस २५ गते ६५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो। त्यसको लगत्तै सोही प्रकृतिको मुद्दामा काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको बचत ठगी लगायतको आरोपमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

त्यसका अतिरिक्त बुटबलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी लगायतको मुद्दामा भने रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी तीनवटा अदालतमा कुल २ करोड २५ लाख धरौटी बुझाएर थुनामुक्त भएका छन्। यसबाहेक लामिछानेविरुद्ध पर्साको वीरगञ्जस्थित सानो पाइला बचत सहकारीको रकम हिनामिनाबारे पनि अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update