सरकारले केही समयअघि जारी गरेका विवादस्पद अध्यादेशहरु आजको संसद बैठकमा निर्णयार्थ पेश नहुने स्थिति बनेको छ।
खासगरी राष्ट्रिय सभामा सरकारले अध्यादेश पेश गरी निर्णयार्थ पेश गर्दा तत्कालको अवस्थामा बहुमतले पारित नहुने स्थिति देखिएपछि सरकारी पक्षले आजको राष्ट्रिय सभा बैठकमा उक्त अध्यादेशहरु निर्णयार्थ पेश गर्ने पूर्व कार्यतालिकाबाट पछि हट्न बाध्य भएको हो।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रमुख सचेतक तथा प्रतिनिधिसँगै सरकारी प्रतिनिधिले आजको दैनिक कार्यसूचिमा अध्यादेश पशे गर्ने विषय समावेश नगरी नयाँ र दुईवटा मात्रै कार्यसूचि राखेपछि सरकारले आजको बैठकमा अध्यादेशबारे छलफल र निर्णयमा हतारो नगरेको हो।
सरकारमा रहेका प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुले अध्यादेशको पक्षमा बहुमत कायम गराउन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पटक पटक वार्ता र सहमतिको प्रयास जारी राखेपनि टुंगोमा नपुगेपछि अध्यादेश पेश गर्ने कार्यसूचि आजलाई थाती राखिएको हो।